दाङ, ७ असार ।
मानव सेवा आश्रमले भवन निर्माण गर्न प्राप्त गरेको जग्गामा सर्भको काम आजदेखि सुरु गरेको छ । तुलसीपुर ७ र ४ को सिमानामा पर्ने कालिका मालिका मन्दिर व्यवस्थापन समितीले उपलब्ध गराएको जग्गामा सर्भेको काम आजदेखि सुरु भएको हो ।
समितीले एक बिगाहा जग्गा उपलब्ध गराएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र ४ को समन्वयमा आउदो विजयादशमी अगाबै भवन सिलान्यास गर्ने तयारी रहेको मानव सेवा आश्रम तुलसीपुरका कार्यालय प्रमुख हिरु जोशीले जानकारी दिनुभयो । भवन निर्माणका लागि श्रोतको खोजी भईरहेको उहाँले बताउनुभयो । केहि समयपछि महायज्ञ सञ्चालन गरिने समेत उहाँले बताउनुभयो ।
मानव सेवा आश्रम भवन निर्माणका लागि स्थानिय सरकारपनि सकारात्मक रहेको तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । उहाँले आश्रम निर्माण गर्नु मनाविय धर्म भएको भन्दै भवन निर्माणमा सहजिकरणका लागि वडा नम्बर ७ र ४ को समन्वयमा कार्यपालिका बैठकबाट निणर्य पास गरेरै प्रक्रिया अगाडी बढाईएको बताउनुभयो ।
स्थानिय र प्रदेश सरकारसँग छलफल भएको र बजेट उपलब्ध गराउन सकारात्मक रहेको वडा अध्यक्ष जिसीले बताउनुभयो । आश्रम भवन निर्माणसँगै जेष्ठ नागरिक मनोरञ्जन केन्द्र, फन पार्कलगाएतका संरचना निर्माण गर्र्ने योजना रहेको बताउनुभयो । आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्दिर व्यबस्थापन समितीलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । सर्भे कार्यमा वडा नम्बर ७ का वडा सदस्यहरु मानबहादुर राना र शोभाराम भण्डारीलगाएतको सहभागिता रहेको थियो ।
मानव सेवा आश्रम अहिले तुलसीपुर ६ को गाईडहरमा मासिक १ लाख रुपैया भुक्तानी गर्दै भाडाको भवनमा सञ्चालनमा रहेको छ । आश्रममा अहिले ६५ जना आश्रय विहिनले आश्रय लिईरहेको प्रमुख जोशीले बताउनुभयो । भवन निर्माण भएपछि सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।