२०८१ बैशाख ११ गते मङ्गलवार

मोफोसलका मौलिक चलचित्रलाई अनुदान :बोर्ड प्रवक्ता बुढाथोकी



चलचित्र विकास बोर्डका प्रवक्ता के.एल.बुढाथोकीले बोर्डले मोफोसल केन्द्रीत कार्यक्रमहरु ल्याएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता बुढाथोकीले बोर्डले आर्थिक वर्ष ०८०/०८१ मा मोफोसलमा बनेका चलचित्रहरुलाई प्रथामिकतामा राखेर कार्यक्रमहरु ल्याएको बताएका हुन् ।

बोर्डले मोफोसलमा निर्माण भएका तीन वटा लघु चलचित्रलाई अनुदान दिने बताए । मोफसलमा निर्माण भएका मौलिक चलचित्रहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले पोष्ट पोर्डक्सन देखि प्रर्दशनी सम्म बोर्डले अनुदान सहयोग गर्नेछ । उनले चलचित्रका गतिविधिलाई कुनाकान्धारामा पुर्‍याउँने गरी बोर्डले मोफोसल केन्द्रीत कार्यक्रम ल्याएको बताए । उनले दुईवटा चलचित्र महोत्सव गर्ने र सिनेमाको पहुच विस्तार र सक्षारता बढाउँन देशका विभिन्न क्षेत्रमा घुम्ते सिनेमा कार्यक्रम गर्ने जानकारी दिए ।

चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बोर्डले सामाजिक जागरण ल्याउने खालका तीनवटा लघु चलचित्र निर्माण गर्ने बताए । उनले विभिन्न संघसंस्थाको सहयोगमा बोर्डले जातिय छुवाछुत र सामाजिक कुप्रथा विरुद्धका लघु चलचित्र निर्माण गर्ने जानकारी दिए । त्यस्तै उनले बोर्डले यस वर्ष लघु चलचित्र प्रतियोगिता गर्ने, स्टोरी बैंक मार्फत देशभरीबाट उत्कृष्ट कथाहरु छानेर चलचित्र निमाणर् गर्ने जस्ता कार्यक्रमहरु बोर्डले अघि सारेको बताए ।

बोर्डका प्रवक्ता बुढाथोकीले पहिलो पटक नेपालमा चलचित्र सम्बन्धी एक्सपो गर्न लागिएको समेत बताए । चलचित्र सम्बन्धी सबैखाले प्रर्दशनी रहने गरी बार्डले यही वर्ष काठमाडौंमा चलचित्र एक्सपो गर्ने बताए । ‘फिल्मदेखि चलचित्र क्षेत्रसँग सम्बन्धीत सबै खाले कुराहरुको प्रर्दशनी गर्ने गरी चलचित्र एक्सपो गने योजना बनाएका छौं’ उनले भने । उनले बोर्डले राष्ट्रिय चलचित्र नीति-२०८० को प्राराम्भिर मस्यौदा तयार गरेको समेत बताए । उनले नेपाली चलचित्रलाई समय सापिक्ष बनाउन, नेपाली उद्योगको प्रवद्धन गर्न र अन्तराष्ट्रिय रुपमा बजार विस्तार गर्ने गरी ल्याउन लागिएको नीतिको खाका तयार गर्ने काम भइरहेको बताए ।

यसअघि बनेको राष्ट्रिय चलचित्र नीति-२०७१ लाई परिमाजर्न गरेर चलचित्र नीति-२०८० ल्याउन लागिएको उनले बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले चलचित्र क्षेत्रको विकास, नयाँ प्रतिभाको खोजी र चलचित्र क्षेत्रमा लागेका प्रतिभाहरुको प्रोत्साहन हुने गरी बोर्डले कार्यक्रमहरु गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार