२०८१ असोज १८ गते शुक्रवार

दाङमा झण्डै सात हजारले लिए सुरक्षीत गर्भपतन सेवा



दाङ, ६ भदौ ।
दाङमा बितेको तीन वर्षको अवधिमा झण्डै सात हजारले सुरक्षीत गर्भपतन सेवा लिएका छन्। आर्थिक वर्ष २०७७/०७८ देखि बितेको आर्थिक वर्षसम्ममा दाङमा ६ हजार ६ सय ९७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ३ सय ४६ जना, २०७८/०७९ मा दुई हजार दुई सय ६२ र गत आर्थिक वर्ष २०७९/०८० मा दुई हजार ८९ जनाले गर्भपतन सेवा लिएका छन् ।

गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका पनि रहेको तथ्याङकले देखाएको छ । तीन वर्षको अवधिमा सात सय ५५ जना २० वर्ष मुनिका व्यक्तिले सुरक्षीत गर्भपतन सेवा लिएका छन् । कानुनले २० वर्षमुनिको विवाहलाई मान्यता नदिएपनि अस्पतालमा गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका व्यक्ति पनि देखिएको छ ।

स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २ सय ९३ जना, आर्थिक वर्ष २०७८/०७९ मा २ सय ७७ र गत आर्थिक वर्ष २०७९र०८० मा एक सय ८५ जना २० वर्ष मुनिकाले गर्भपतन सेवा लिएका छन् ।

बितेको तीन वर्षको अबधिमा औषधिद्धारा चार सय जनाले सुरक्षीत गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय दाङका तथ्याङ अधिकृत मेघराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार औषधिद्धारा आर्थीक वर्ष २०७७/०७८ मा एक सय ३२, आर्थिक वर्ष २०७८/०७९ मा एक सय ६६ र गत आर्थिक वर्ष २०७९/०८० मा एक सय २ जनाले सुरक्षीत गर्भपतन गराएका हुन् ।

त्यसैगरी २० वर्ष मुनिकै सर्जिकलद्धारा तिन सय ५५ जनाले गर्भपतन गराएका छन् । आर्थीक वर्ष २०७७र०७८ मा एक सय ६१, आर्थिक वर्ष २०७८/०७९ मा एक सय ११ र गत आर्थिक वर्ष २०७९/०८० मा ८३ जनाले सुरक्षीत गर्भपतन गराएका हुन् ।

तीन वर्षको अवधिमा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट २० वर्ष माथिका पाँच हजार नौ सय बढीले गर्भपतन सेवा लिएका हुन् । स्वास्थ्य कार्यालय दाङका अनुसार २० वर्ष माथिका आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार ५३, २०७८/०७९ मा एक हजार नौ सय ८५ र गत आर्थिक वर्ष २०७९/०८० मा एक हजार नौ सय चार गरी पाँच हजार नौ सय ४२ जनाले गर्भपतन सेवा लिएका छन् ।

दाङमा सुरक्षीत गर्भपतनको लागि १५ वटा मात्रै सुचीकृत स्वास्थ्य संस्था रहेका छन् । सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षीत गर्भपतन सेवा लिएको तथ्यांकमात्रै राख्ने गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुवरले बताउनुभयो । उहाँका अनुसार निजि अस्पतालमा भएका गर्भपतनको तथ्याङक स्वास्थ्य कार्यालयमा राख्ने गरिएको छैन् ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार