२०८० फाल्गुन १३ गते आइतवार

दाङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रामबन्धु सुवेदीलाई



दाङ,२५ भदौ
गृह मन्त्रालयले आज (सोमवार) १० जना सहसचिवको सरुवा गरेको छ । सरुवा अनुसार दाङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी राबबन्धु सुवेदीले पाउनुभएकोे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीलाई सरकारले दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ ।

मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा गृह मन्त्रालयका रुद्रसिंह तामाङलाई पठाएको छ । विभागमा यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी सुन प्रकरणमा मुछिएपछि त्यहाँबाट उहाँलाई सरकारले हटाएको थियो ।

यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई पनि सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

सरकारले भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बाग्लुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएको छ ।

त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई भने गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयअन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार