दाङ, ३ असोज ।
दाङका दुई कारागारबाट आज २२ जना कैदीबन्दी छुट्ने भएका छन् । संविधान दिवसको अवसरमा घोराही र तुलसीपुर कारागारबाट २२ जना कैदीबन्दीको बाँकी कैद मिनाह हुने भएको हो ।
घोराही कारागारबाट ८ जना र तुलसीपुर कारागारबाट १४ जना गरी २२ जना कैदीबन्दी छुट्न लागेका हुन् ।
घोराही कारागारबाट कर्तव्य ज्यानका २ , सवारी ज्यानका २ र चोरी मुद्धाका ४ गरी ८ जना कैदीबन्दी छुट्न लागेको घोराही कारागारका जेलर लक्ष्मण सिंह राठोरले जानकारी दिनुभयो । उनीहरु सबै पुरुष कैदीबन्दी हुन् ।
यस्तै तुलसीपुर कारागारबाट १४ जना कैदीबन्दी संबिधान दिवसको अवसरमा रिहा हुन लागेको जेलर चिन्तामणी रेग्मीले जानकारी दिनुभयो । ती १४ जनामध्ये १ जना महिला र अन्य सबै १३ जना पुरुष रहेको उहाँले बताउनुभयो ।
तुलसीपुरबाट पनि कतव्र्य ज्यान, सवारी ज्यान, हातहतियार खरखजना, बहुविवाह र चोरीका गरी १४ जनाको बाँकी कैद मिनाह भएको जेलर रेग्मीले बताउनुभयो ।
कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आज दिउँसो छोडिने भएको हो । ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीको बाँकी कैद मिनाह भएको कारागार प्रशासनले जनाएको छ ।