
दाङ, २६ असोज । दाङमा शुक्रबारदेखि ‘भिएफएक्स सिनेमाज’ नामक जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ ।
दुई युवा व्यवसायी बिजय रावत र चेतन जंग रानाले करिब २० करोडको लागतमा हल सञ्चालनमा ल्याएका हुन् । दुईवटा अडिटोरियम रहेको हलमा जम्मा ४१२ (एउटामा १६५ र अर्कोमा २४७) सिट क्षमता छ ।
भिएफएक्स सिनेमाज प्रा.लि.अन्तर्गत सञ्चालनमा आएको हल घोराही उपमहानगरपालिका-८ सौंडीकुला चोकबाट करिब ४०० मिटर दक्षिणतिर अवस्थित रहेको छ। हल सञ्चालक विजय रावत र चेतन जंग रानाले संयुक्त रुपमा शुक्रबार बिहान साढे आठ बजेको शोमा नेपाली चलचित्र ‘परदेशी(२’ लाई स्क्रिनिङ गर्दै हलको औपचारिक शुभारम्भ गरे । रावत र रानाले हलको निर्माण ३ वर्षअघिदेखि सुरु गरेका थिए ।
जग्गासहित करिब २० करोडको लगानीमा निर्माण भएको हल कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माणमा ढिलाई भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै हल सञ्चालक रावतले ‘अन्त सबैतिर थ्रिडीसहित सबै सिनेमा चल्ने हलहरू निर्माण भइसक्दा पनि दाङमा हालसम्म गुणस्तरीय हल थिएन,भने, ‘त्यही तथ्यलाई मध्यनजर गर्दै दर्शकको चाहाना ध्यानमा राखेर हामीले मल्टिप्लेक्स सिनेमा हलमा लगानी गरेका हौं।’ उनले आफ्नो हलमा विदेशीभन्दा नेपाली फिल्मलाई प्राथमिकता दिने पनि बताए ।
‘ फिल्म नै चलेको छैन भने त माया(प्रेमले मात्र हल चल्दैन । राम्रो चलेको नेपाली फिल्मलाई पीडित हुने अवस्था आउन दिने छैनौं,’ रावतले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम भिएफएक्स सिनेमाजको योजना सुनाउँदै अर्का सञ्चालक रानाले भने, “ हामीले भिएफएक्स ब्रान्डलाई मल्टिप्लेक्स चेनको रूपमा देशव्यापी विस्तार गर्दैछौँ ।” दाङ पछि काठमाडौँमा हल खोलिने र त्यस पछि देशैभर विस्तार गरिने योजना रहेको उनले बताए ।
स्मरण रहोस् दाङमा यसअघि गणेश हल, मनकाँशी हल र स्वर्गद्वारी हल गरि तीनवटा हल सञ्चालनमा छन् । जिल्लाभर भएका ९ वटा हलमध्ये कोरोना कहर पछि भने अन्य ६ वटा हल सञ्चालनमा आउन सकेनन् । जिल्ला मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएसंगै फेरि दाङ नेपाली सिनेमा व्यापारको एक प्रमुख बजार हुनसक्ने धेरैको आकलन रहेको छ।