२०८१ असोज १८ गते शुक्रवार

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन



दाङ, २६ कार्तिक ।

तिहारको आज दोस्रो दिन । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । बिहान कुकुर तिहार मनाइ बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चांग निणरयक समितिले जनाएको छ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निणरयक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज साँझबाट घरघरमा भैलो खेल्ने गरिन्छ । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको हो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो ।

यस्तै, गाईपूजा भोलि परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धन पूजा, बलीपूजा र म्हपूजा पर्सि परेको छ । नेपाल संवत ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ । तिहारको सबैभन्दा महत्त्वपूणर् दिन मानिने भाइटीका कात्तिक २९ वुधबार परेको छ ।

बुधबार विहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । तर, भाइटीकाको दिन दिनैभरि टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार