२०८१ जेष्ठ ९ गते बुधवार

यमपञ्चकको चौंथो दिन आज गोवर्द्धन पर्वतसँगै गोरुको पूजा गरिदै



दाङ,२८ कार्तीक ।
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वतसँगै गोरुको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको बताइन्छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार