
दाङ, ७ मंसिर ।
जिल्ला हुलाक कार्याल दाङमा पाँच र १० को टिकटको अभाव भएको छ । पाँच र १० रुपैयाँको हुलाक टिकट अभाव भएको हुलाक कार्यालयले जनाएको छ । सरकारी कार्यालयमा निवेदन लगायतको प्रयोजनमा अनिवार्य गरिएको हुलाक टिकट अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
सरकारी कामको सबैभन्दा बढी प्रयोजनमा आउने पाँच र १० को टिकट अभाव भएको हो । अहिले जिल्ला हुलाक कार्यालयमा पाँच, आठ र नौ रुपैयाँको टिकट नै छैन । १० को टिकट पनि सकिने अवस्थामा रहेको छ । टिकट सकिन लागेकै कारण हुलाकबाट प्रति व्यक्ति एउटा मात्रै टिकट दिन थालिएको छ ।
कार्यालयका अनुसार जिल्लामा एकको ३५ हजार नौ सय ९०, दुईको ८९ हजार सात सय ६०, तिनको २५ हजार थान रहेको छ । त्यसैगरी ११ को सात हजार तीन सय, २० को चार हजार दुई सय र ४० को तीन सय थान टिकट रहेको कार्यालयले जानकारी दिएको छ । जिल्ला हुलाक कार्यालय दाङका अनुसार दाङ जिल्लाभर महिनामा साढे तीनदेखि साढे चार लाखसम्मको हुलाक टिकट खपत हुँदै आएको छ ।।