२०८१ माघ १२ गते शनिवार

दाङमा कुकुरको टोकाईबाट दुई बालबालिकाको मृत्यु



दाङ, २५ मंसिर ।
दाङमा कुकुरको टोकाईबाट घाइते भएका दुई जना बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १०को सिस्वानी अम्राइका दुई बालबालिकाको मृत्यु भएको हो ।

कुकुरको टोकाईबाट घाइते भएका घोराही उपमहानगरपालिका – १० अमराई निवासी नरेश चौधरी को ५ वर्षकी छोरी निलम चौधरी मंसिर २२ गते र घोराही उपमहानगरपालिका – १० अम्राइ सिस्वानीकै गिरिराज ओलीको ६ वर्षका छोरा गम्बिर ओलीको २४ गते मृत्यु भएको हो ।

घाइते ओलीको भारतको लखनउमा उपचार गर्दै गर्दा मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । एकै गाउँका दुई जना बालकको मृत्यु भएसंगै गाउँमा डर त्रासको वातावरण सिर्जना भएको स्थानीय कृष्ण रावतले बताउनुभयो ।

कुकुरले टोकेको दुई दिनपछि निलमको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने ओलीको लखनउमा उपचार गर्दै गर्दा मृत्यु भएको उहाँले बताउनुभयो । तर प्रहरीले यसबारेमा केहि जानकारी नआएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ ।।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार