२०८१ मङ्सिर २३ गते आइतवार

प्रेमीसँग भाग्दै गरेकी श्रीमतीको तोरी बारीमा हत्या



सांकेतीक तस्बिर ।

दाङ,१३ पुस । कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिका-२९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् । उनले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीको घाँटीमा तुनाले कसेर हत्या गरेको आरोप छ ।

एसपी थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । उनीहरूका दुई जना बच्चा पनि छन्।

पछिल्लो समय श्रीमान-श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ ।

यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो।अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन् ।

‘हिजो महिला आफ्ना प्रेमीसँग भाग्न लागेकी थिइन् । भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले देखेछन्,’ एसपी थापाले भन्नुभयो (‘त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए ।’

लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ ।

रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताउनुभयो । उनका प्रेमी भने भाग्न सफल भएका थिए।

‘हत्या हुँदा धेरै बेर पनि लागेनछ । घटनाका प्रत्यक्षदर्शीहरू पनि धेरै छन्,’ एसपी थापाले भन्नुभयो, ‘प्रेमीलाई भेटाउन पाएनन् । घटना छोटो समयमा नै भएकाले स्थानीयले पनि बचाउन सकेनन् । ’

यस्तै, घटना भएको केहीबेरमा प्रहरीलाई खबर भएको थियो । इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको थियो ।

उक्त टोलीले घटनास्थल नजिकैबाट रत्नबहादुरलाई पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

साभार : सेतोपाटी

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार