२०८० फाल्गुन १३ गते आइतवार

नेपाल टेलिकमका कर्मचारी शनिवार पनि ग्राहकको घरदैलोमा



तुलसीपुर, १४ माघ ।
शनिबार दिउँसो करिब १ बजेतिर । निलो र सेतो रंगको पप्पलेट हातमा लिएका नेपाल टेलिकमका कर्मचारी ।

अनि कर्मचारीले स्थानीयलाई तपाईले एनटी फाईबर नेट जोड्नु भएको छ कि छैन भन्दै जानकारी लिदै थिए ।

तुलसीपुर उपमहानगरपालिका-६ गाइडहरमा भेटिनुभएका दुर संचार कार्यालय तुलसीपुरका प्रमुख सन्तोष अधिकारीले ग्राहकलाई एनटी फाइबर इन्टरनेटको सेवाको सन्तुष्टी र नयाँ विस्तार गर्ने गरी सार्वजनिक बिदाको दिनमा पनि घरदैलो अभियान गरेको बताउनुभयो ।

‘नेपाल टेलिकमको फाईबर इन्टरनेट जोडिसकेका ग्राहकलाई सेवाको सन्तुष्टीबारे सोध्ने गरेका छौँ ।’ उहाँले भन्नुभयो-‘ ग्राहक नबनेको भए नयाँ ग्राहक पनि बनाउने गरेका छौँ ।’ तर अधिकांश फाईबर नेटको ग्राहक बनिसकेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपाली टेलिकमको फाईबर नेटको विस्तार तुलसीपुरमा तिब्र बनेको छ । तुलसीपुर क्षेत्रमा मात्रै अहिलेसम्म करिब २ हजार ५ सय ग्राहक बनिसकेको प्रमुख अधिकारीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा दोब्बर वृद्धि गर्ने योजनासहित सार्वजनिक बिदाको दिनमा पनि घरदैलो अभियान संचालन गरिरहेको प्रमुख अधिकारीले बताउनुभयो । ‘यसै आर्थिक वर्षमा तुलसीपुर क्षेत्रमा करिब ७ हजार ५ सय ग्राहक बनाउने योजना बनाएका छौँ ।’ उहाँले भन्नुभयो-‘सोहि योजना बमोजिम अहिले घरदैलो अभियान संचालन गरिरहेका छौँ ।’

नेपाल टेलिकमको सेवा सुविधा र नेपाल टेलिकमको फाइबर नेट जडान प्रक्रियाको बारेमा जानकारी दिन घरदैलो अभियान गरिरहेको उहाँले बताउनुभयो । ‘घर दैलो अभियानबाट ग्राहकको पृष्ठपोषण पाउने गरेका छौँ ।’ उहाँले भन्नुभयो-‘धेरै ग्राहक हाम्रो सेवाप्रति सन्तुष्ट हुनुहुन्छ ।’

बिदाको दिनमा कार्यालयमा ग्राहक नजाने भएकाले कर्मचारी आफै ग्राहकको घरमा पुगेर प्रतिक्रिया लिइरहेको उहाँले बताउनुभयो ।

टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार विभिन्न फरक विशेषता र महसुल दर पनि कम भएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको छ ।

फाईबर नेट घरबाट १९८ मा फोन गरेर जडान गर्न सकिने र जति भन्यो त्यतिको स्पिडमा उपलब्ध हुने प्रमुख अधिकारीले बताउनुभयो । इन्टर जडानपछि कुनै समस्या आएमा सार्वजनिक बिदाको दिनमा पनि मर्मत गर्न सकिने उहाँले बताउनुभयो ।

अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । यसबाट एकै पटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार