दाङ,७ फागुन ।
दाङका सडकमा यातायात व्यवस्थापनलाई सहज बनाउन फागुन १४ गतेदेखि टाइम कार्ड लागु गरिने भएको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय घोराहीमा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको अध्यक्षतमा यातायात व्यवसायी सम्वद्ध सरोकारवाला सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो।
पछिल्लो समय दाङका सडकहरुमा यात्रा सुरक्षीत र भरपर्दो नदेखिएपछी यसलाई थप व्यवस्थीत गर्न टाइमकार्ड लागु गर्न लागीएको हो ।
दाङमा सवारी दुर्घटनाको जोखीम दिनप्रतिदिन बढिरहदा सडक यातायात व्यवस्थित अभियान अन्तरगत घोराही-तुलसीपुर र घोराही-लमही-भालुवाङ सडकमा टाइम कार्ड लागु गरिदैछ ।
फागुन १४ गते तुलसीपुरको नयाँ बसपार्कबाट सुरु गरेर टाइम कार्ड लागु भएको घोषणा गरिने दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले जानकारी दिनुभयो ।
सडकमा यातायात व्यवस्थापनलाई सुरक्षित,भरपर्दो र व्यवस्थित बनाउन टाइम कार्ड लागु गर्ने विषयमा यातायात सम्बद्ध सरोकारवालाहरु सहितको अर्को वृहत बैठक आगामी फागुन १३ मा पुनः बोलाईएको छ ।
सरोकारवालाको बैठक पश्चात फागुन १४ देखि टाइम कार्ड लागु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो–” यातायात सम्बद्ध सरोकारवालसंग बसेको बैठकले टाइम कार्ड लागु गर्ने विषयमा निर्णय भैसकेको छ । तर पुनः एक पटक पूर्व तयारी स्वरुप बैठक बोलाएका छौ । साे बैठकमा धेरै भन्दा धेरै सराेकारवालालाई वृहतरुपमा जानकारी गराउने तयारी गरेका छौ।”
टाइम कार्ड लागुको समय तुलसीपुरको नयाँ बसपार्कबाट तोकिने छ । टाइम कार्ड लागु भएपछि तुलसीपुरबाट घोराहीका लागि छुट्ने सार्वजनिक सवारी साधन बस,टिप्पर र ट्रकको नारायणपुरमा जाँच गर्ने व्यवस्था मिलाइएको छ । भने अन्य विभिन्न स्थानमा छड्के अनुगमन समेत गरिने छ । टाइम कार्ड सुरू भएपछी तोकिएको समयमा मात्र सम्बन्धीत स्थानमा पुग्नुपर्ने हुन्छ ।
सवारी जाँचका क्रममा नियमको उल्लङ्घन गरेको पाइएमा ठाँउको ठाँउ जरीवाना गरीनेछ । टाइम कार्ड यातायात व्यवसायी,ट्राफिक प्रहरी र सरोकारवालाको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिनेछ ।
पहिलो चरणमा घोराही-तुलसीपुर र घोराही-लमही-भालुवाङ सडकामा लागु भएपछि यसको प्रभावकारीताको मूल्याङ्कन गरेर अन्य सडकहरुमा गुड्ने सवारी साधनमा पनी सञ्चालन गर्न सकिने तयारी गरिएको छ ।