२०८१ असोज १८ गते शुक्रवार

दाङमा मोही किसान सडकमै सुतेपछि…



दाङ, ११ फागुन ।
स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् । गुठी जग्गा रैकर गर्नुपर्ने र मोही किसानलाई जग्गा दिनुपर्ने मागसहित चार दिनदेखि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा धर्नामा बसेका किसानले आज शुक्रवार दिउँसो १२ बजेदेखि १२ः३० बजेसम्म घोराहीको भानुचोकमा सडकमै सुतेर विरोध जनाएका हुन् ।

गुठी पीडित मोही किसानका समस्यालाई सरकारले गम्भीरतापूर्वक नलिएको र जसका कारण किसानहरु मोही हकबाट वञ्चित हुनुपरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको मोही किसान शेरबहादुर चौधरीले बताउनुभएको छ । मोही अधिकार कार्यान्वयन गर्नुपर्ने, गुठी जग्गा रैगर गर्नुपर्ने, मोही अधिकारबाट किसानलाई वञ्चित गर्न नपाइने लगायतका माग राख्दै दबाब सिर्जना गर्ने उद्देश्यले सडकमै सुतेर आन्दोलन गरेका थिए ।

मोही जग्गाको अस्थायी पुर्जा, थालसहित सहभागी भएका किसानले आधा घण्टा सुतेर विरोध गर्दा यातायात सेवा अवरुद्ध भएको थियो । स्वर्गद्धारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति र जिल्ला भुमी अधिकार मञ्चको संयुक्त आयोजनामा फागुनको ८ गतेदेखि मोही किसानहरु आन्दोलनरत छन् । आन्दोलनका क्रममा जिल्ला प्रशासयन कार्यालयमा धर्नासँगै सडकमा सुतेर बिरोध गरेको गुठी पीडित सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार फागुनको १ गतेदेखि सुरु भएका सङ्घर्षका कार्यक्रम चैत १ गतेसम्म हुनेछ । जसअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा धर्ना, राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउने, लुम्बिनी प्रदेश कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने, पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने, दाङ बन्द लगायतका विरोध कार्यक्रम रहेको सङ्घर्ष समितिले जनाएको छ ।

सर्वोचव अदालतले २०६२ चैत्र १४ गते स्वर्गद्वारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने परामादेश जारी जारी गरेपछि मोही किसान अधिकारबाट वञ्चित भएको बताउँदै आएका छन् ॥

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार