दाङ,२२ फागुन ।
दाङ र सल्यानको सिमाना पर्ने सुकिदहमा यस वर्ष मेला लाग्ने भएको छ । महाशिवरात्रीका अवसरमा मुक्तिनाथ मन्दिरमा मेलाको आयोजना गरिएको हो । धार्मिक क्षेत्रको रुपमा विकास गर्न प्रचारप्रसार गर्ने उद्देश्यले दक्षिण कालिका मन्दिर व्यवस्थापन समिति कपुरकोट गाँउपालिका-३ को आयोजनामा फागुन २५ गते एकदिन मेलाको आयोजना गरिएको छ ।
सुकिदहमा अहिलेसम्मकै अग्लो शिबलिङ्ग निर्माण समेत भएको छ।
दाङको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ र सल्यानको कपुरकोट गाँउपालिका वडा नम्बर ३ को सिमानामा रहेको सुकिदहमा २७ फिट उचाई र १५ फिट गोलाई रहेको शिबलिङ्ग तयार गरि यस अघिनै उद्घाटन भैसकेको छ । महाशिवरात्रीका अवसरमा आयोजना गरिएको मेलमा सहभागिताका लागि शिबभक्त समुहका मुख्य संयोजक टंकराम वलिले सबैमा अनुरोध गर्नुभएको छ ।
यो क्षेत्र दाङको तुलसीपुर उपमहानगरपालिकाको उच्चपहाडि भेग हो ।सुकिदहबाट मनोरम प्राकृतिक दृश्य संगै हिमाल हेर्न सकिने मुलकोट टोल बिकास संस्थाका अध्यक्ष ऋषिराम पुनले बताउनुभयो। पर्यटकिय क्षेत्रका रूपमा रहेको प्रसिद्ध एवं सुन्दर चमेरे गुफा पनि मुलकोटमा रहेकाले अवलोकनका लागि उहाँले सबैलाई आग्रह गर्नुभयो।
सुकिदह पुग्नका लागि सल्यान-कपुकोट सडक खण्डमा पर्ने हरनेटि हुँदै मुलकोटवाट पुग्न सकिन्छ। यस्तै तुलसीपुर ७ को प्रसेनी,बनहरी,लामीदमार हुदँ मुलकोटबाट पनि पुग्न सकिन्छ।यहि बाटो भएर सल्यानको कपरकोट दाङछेरी हुँदै दाङ झर्ने मानिसको पैदल बाक्लो आउजाउ भएपनि अहिले यातायातको सुबिधा भएपछि पैदल हिँड्ने मानिसको संङ्ख्यामा भने कमि आएको छ ।

