दाङ, १३ बैशाख ।
दाङको तुलसीपुरमा बिहिबारदेखि चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । ‘चलचित्र पत्रकारिताको मुल मर्म, व्यावसायिक पत्रकारिताका लागि सन्चार कर्म’ भन्ने मुल नाराका साथ चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो ।
कार्यशालाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले दाङको सन्दर्भमा निकै ऐतिहासिक, पौराणीक स्थलहरु भएपनि दंगालीहरुले त्यसप्रति चासो दिन नसकेको बताउनुभयो ।
उहाँले दाङको संस्कृति, दाङको जातिय, धार्मिक अवस्थाको स-विकास हुन नसकेको बताउनुभयो ।
उहाँले दाङमा पनि तुलसीपुर क्षेत्र, दंगीशरण राजादेखि छिल्लीकोट, प्रतावकोट, सुईकोट, देविस्थान, सकौराकोट, तुई दाङ, बबईको बिशेषता संग जोडिएकाले यो सम्बन्धि अध्ययन अनुसन्धान गर्न सकेमा चलचित्र पत्रकारिताको क्षेत्र महत्वपूणर् पुँजी बन्न सक्ने बताउनुभयो ।
उहाँले पालिका र पत्रकारहरु सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
त्यस्तै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटनलाई प्रवर्द्धन गर्न र चलचित्र क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको बताउनुभयो ।
त्यस्तै चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता केएल पीडितले दाङ जिल्लालाई चलचित्र नगरी बनाउन चाहे पनि त्यसका आधारभुत जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले चलचित्र क्षेत्रको विकासका लागि दाङका पालिकाले आवश्यक बजेट बिनियोजन गरेर बहुउद्देश्यीय कला घर निर्माण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामीले सिनेमा पर्यटन प्रबर्द्धनको सशक्त माध्यम भएको भन्दै यसको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्ति प्रियले चलचित्रलाई समृद्ध उद्योग बनाउनका लागि चलचित्र पत्रकारितालाई मर्यादित बनाउनुपर्ने र कार्यशालाले नयाँ बाटो तय गर्ने बताउनुभयो ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो । तीन दिनसम्म चल्ने कार्यशालामा स्कृप्ट लेखन, कार्यशाला, सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ ।
त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतम, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले मन्तव्य राख्नुभएको हो ।
चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गनुभएको हो ।