२०८२ जेष्ठ १० गते शनिवार

राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्याधिक



दाङ, २४ बैशाख ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीको चाप अत्याधिक देखिएको छ । अस्पतालमा दैनिक चार सय बढी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम लगायतका ठाउँबाट उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीको चाप बढ्दै गएको अवस्थामा सेवा सुधारमा भने समस्या देखिएको छ । अस्पतालमा जनशक्तिको अभाव, आवश्यक पूर्वाधारको अभाव लगायतका कारण सेवा सुधारमा समस्या देखिएको हो ।

सोमबार (आज) नागरिक समाज दाङको अगुवाईमा पत्रकारसहित पुगेको अनुगमन टोलीले अस्पतालमा बिरामीको भिड अस्तव्यस्त देखिएको हो । अस्पतालको ओपिडी सेवा लिन आउने बिरामीको चाप अत्याधिक देखिएको हो ।

बिरामीको चाप धेरै हुँदा अस्पतालमा लाइन व्यवस्थान नभएको, एउटै बिरामीले घण्टौँ कुनुपर्ने देखिएको, सामान्य उपचार सेवा पनि एकैदिनमा सेवा पाउन नसकिएको सेवाग्राहीले गुनासो गरेका छन् ।

लमही नगरपालिका वडा नम्बर-६ का शिवा बुढाथोकीले सेवामा विश्वास बढ्दै गएपनि केहि ढिलासुस्ती हुने गरेको बताउनुभयो । उहाँले अस्पतालको सेवा थप सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।

अनुगमनको क्रममा अस्पतालको डायलाइसीस सेवा भने प्रभावकारी देखिएको छ । अस्पतालमा थोरै जनशक्ति र थोरै मेशिनका बावजुत पनि सेवा प्रभावकारी भएको डायलाइसीस गराइरहेका बिरामीका आफन्तले बताएका छन् ।

अस्पतालका निमित्त प्रमुख हेमराज शर्माले आवश्यक जनशक्तिको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको बताउनुभयो । तर पछिल्लो समय अस्पतालप्रति नागरिकको विश्वास बढ्दै जाँदा बिरामीको चाप बढ्दै गएको उहाँको भनाई छ ।

यसैबिच तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले सरकार फेरबदलको असर अस्पतालको व्यवस्थापनमा पर्ने गरेको बताउनुभयो । उहाँले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष सरकारले पठाउने भएका कारणले सरकार छिटोछिटो परिवर्तन हुँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय करिब १ वर्षदेखि अस्पतालको बैठक समेत नियमित हुन नसकेको बताउनुभयो।

नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तको नृतत्वमा समाजकै सचिव नारायणप्रसाद श्रेष्ठ, कोषाध्यक्ष बसन्तराज भट्ट, सदस्य निर्मला गौतम, मानव अधिकार रक्षक दाङका सदस्य श्रीमण न्यौपाने, नेपाल स्तम्भकार समाज दाङका सचिव नारायणप्रसाद भण्डारी, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय वरिष्ठ उपसभापति शुसिल बस्नेत र पत्रकारको टोलीले अनुगमन गरेको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार