दाङ, १८ जेठ ।
गर्मी अत्याधिक बढेपछि दाङका चार पालिकामा आजदेखि विद्यालय बन्द भएका छन् । दुई उपमहानगरपालिकासहित चार पालिकामा आजदेखि विद्यालय बन्द भएका हुन् ।
गर्मीका कारण तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, र शान्तिनगर गाउँपालिकामा आजदेखि जेठ २२ गतेसम्म र गढवा गाउँपालिकामा आजदेखि जेठ २० गतेसम्म विद्यालय बन्द भएका छन् ।
गर्मी बढेपछि आजदेखि जेठ २२ गतेसम्मका लागि उपमहानगरपालिका भित्रका संस्थागत र सामुदायिक सबै विद्यालय बन्द गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
अत्यधिक गर्मी बढेका कारण पढाईमा असहज अवस्था आएपछि घोराही उपमहानगरपालिकाले पनि आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरेको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
गर्मी बिदालाई वार्षिक तोकिएको वर्षे बिदाबाट कट्टी हुने गरी गर्मी बिदामा मिलान गरिएको उहाँले बताउनुभयो । यस्तै अत्याधिक गर्मीका कारण गढवा गाउँपालिकामा पनि तीन दिन विद्यालय बन्द गरिएको छ । आजदेखि २० गतेसम्म वर्षे बिदामा मिलान गर्नेगरि विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २१ गतेदेखि पठनपाठन संचालन गरिने छ।
यस्तै शान्तीनगर गाँउपालिकाले पनि आजदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ । देउखुरीका राप्ती गाउँपालिका र लमही नगरपालिकाले हिजोदेखि नै विद्यालय बन्द गरेका छन्।
यसैबिच बालबालिकाहरुलाई गर्मीको समयमा घरबाहिर ननिस्कन, घरमै बसेर पढ्न, खानपानमा बिषेश ध्यान दिन अपिल गरिएको छ । गर्मीको समयमा विभिन्न स्वास्थ्य समस्याहरु आउने र देखिने गरेकोले सरसफाई, खानपान र हिडडुलमा ध्यान दिन अपिल गरिएको हो ।
काँचो चिजहरु नखान, अत्याबस्यक काम बाहेक घर बाहिर ननिस्कन, खाने बस्तुहरु राम्रो सँग पकाएर खान, सुरक्षित पानी पिउन, नियमित स्वास्थ्य सरसफाईमा ध्यान दिन सबै नागरिकमा अनुरोध गरिएको छ ।