
तुलसीपुर,१२असार ।
‘नमस्कार सर यो थारुको छोरो हो । के गरिखाने हो,सँधै काम नगरी नहुँने’तुलसीपुरमा-१९ बाँसगढीका पारु चौधरीले भेट हुँदा स्थानीय गोपाल खड्कासंग अभिवादन संगै भलाकुसारी गर्थे । खडकाको घर देविथानदेखी दक्षिणतर्फ छ । उहाँ नवजागरण मावि कुटेचौरमा कार्यरत शिक्षक हुनुहुन्छ । विद्यालय जाँदा सोही बाटो भएर ओहोरदोहर गर्दा प्रायजसो भेट भइरहन्थ्याे पारुसंग ।
तर मंगलबारबाट त्यो बोली सून्न नपाउदा न्यास्रो लागीरहेको छ भने असल साथी गुमाउदाको पिडा खडकालाई छ । उहाँले भन्नुभयो–‘पारु मानपुरे कुलाको डिलमा बर्खे झुप्रोमा ओरीपरी बार नलगाएकोमा बस्दा त सर्प भेटिएनन् तर अहिले सुरक्षीत पिल्लरवाला पक्की घरमा बस्दा घर नजिकै सर्पले डसेर मृत्यु भयो,बिडम्वना सहनैपर्ने सुखःको दिन आएको समय आफै रहेनन’ ।
पारु चौधरीको निधनले गाँउ नै शोकमा डुबेको छ । तुलसीपुर-१९ का वडा सदस्य राम बहादुर पौडेलका अनुसार उनि साबिक बिजौरी गाविस वडा नम्बर ८ को २०५४ सालमा नेकपा एमालेको तर्फबाट निर्वाचित सदस्य समेत हुन् ।अहिले अखिल नेपाल किसान महासंघ वडा नम्बर १९ को उपाध्यक्ष समेत थिए।
चौधरी बाँसगढिमा आमा, श्रीमती र छोरा बुहारी संगै बस्दै आएका थिए । छोराले घर गृहस्थीको काम सम्हाल्नु भएको छ । आँखामा समस्या देखिएपछि मंगलबार दिउसो ९० वर्र्षीय हजुरआमा सोमती चौधरीलाई जाँच गराउन नाती शेखर चौधरीले तुलसीपुरमा लिएर जानुभएको थियो । घरमा बाख्रा रहेकाले घर नजिकै रहेको बारीमा घाँस काट्न गएको छोरा शेखरले बताउनुभयो ।
बारीमा गएको केहीबेरमा बुवालाई गोमन सर्पले डसेछ ।उहाँले भन्नुभयो-‘मलाई गोमन सर्पले डस्यो भनेर टकटक्याएर फाल्नुभएको रहेछ’ । छोरा शेखरका अनुसार सर्पले डसेको जानकारी गराए लगत्तै बुवाले आफै अस्पतालको साटो आफुलाई धामीकहाँ लैजान अनुरोध गर्नुभएपछि अटोमा चढाएर डुरुवा तर्फ परिवारले लगेको थियो । उहाँका अनुसार बुवालाई लगत्तै झारफुकका लागि धामीका लगिएपनि करिब ३/४ घन्टा सम्मको प्रयास सफल हुन सकेन ।
अबस्था झनपछि झनै जटिल बन्दै गएपछि घोराही अस्पताल पु्याउन एम्बुलेन्सलाई खबर भएको थियो । एम्बुलेन्सपनि केही समय आउन ढिला भएपछि बुवाको अवस्था अझै जटिल बन्दै गएको शेखरले बताउनुभयो । बेलुका छ बजेको जस्तो लाग्छ, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगेका थियौ,उहाँले भन्नुभयो-‘समयमै अस्पताल पु्र्याउन बुवालाई बचाउन सकिएन’ ।
मंगलबार दिउँसो साढे ३ बजेतिर घर नजिकै रहेको आफ्नै बारीमा घाँस काट्न गएको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीको सर्पले टोकेर मृत्यु भएको हो।
बारीमा घाँस काट्न गएका बेला विषालु सर्पले पारुलाई बायाँ हातमा टोकी घाइते हुनुभएको थियो। सर्पदंशबाट घाइते चौधरीलाई अस्पताल पु्याउनुको साटो झारफुकमा भर पर्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पु्र्याय लगत्तै अस्पतालका चिकित्सकले पारुलाई मृत घोषणा गरेका थिए ।उहाँको बुधाबार बिहान अन्तेष्टी गरिएको छ ।