
दाङ, १९ साउन ।
अटोले बगाउँदा निधन भएकी ५५ वर्षिय सीता आले शुक्रबार नातिनीलाई ल्याउन तुलसीपुर आउनुभएको थियो । शुक्रबार सीतासँगै उहाँकी जेठी बुहारी सुनिता थापा र सात वर्षका नाती सुशान्त आले पनि संगै थिए ।
सीताका कान्छा छोरा राजिब आलेका अनुसार शनिबार विद्यालय बन्द रहने भएकाले नातिनी मञ्जु खड्कालाई आफ्नो घरमा लैजान शुक्रबार बजार जानुभएको थियो । ‘म व्यक्तिगत कामको शिलसिलामा घोराहीमा थिए, आमा भान्जीलाई लिन बजार जानुभएको रहेछ ।’ उहाँले भन्नुभयो-‘साँझ घर फर्कँदा तुलसीपुर-४ थम्मन चौतारी नजिकै दोभानमा बेतने खोलाले बगाउँदा आमालाई गुमाउन पुग्यौँ, भान्जीको अवस्था अझै अज्ञात छ ।’
मञ्जुकाे घर सुर्खेतको गुर्भाकोट नगरपालिकामा पर्छ । खोलाले बगाउँदा अज्ञात रहेकी मञ्जुका बुवा भुतपुर्व नेपाली सेना हुनुहुन्छ । करिब एकसाता अघिमात्रै विज्ञान विषय अध्ययनका लागि तुलसीपुर आएकी मञ्जु तुलसीपुरमा रहेको गोर्खा माविमा कक्षा ११ मा भर्ना समेत भइसकेकी थिइन् ।
मञ्जु विज्ञान विषय अध्ययनका लागि केहि साता अघिमात्रै भर्ना भएको विद्यालयका शिक्षक सुरज केसीले बताउनुभयो । मामाघर तुलसीपुर-४ खाद्रे गाउँमा भएकाले पनि अध्ययनका लागि टाढा भएपछि मञ्जुले तुलसीपुरको गुल्मचोक नजिकै ठूलोबुवा रुद्रबहादुर खड्काको घरमा बसेर अध्ययन गर्न थालेकी थिइन् ।
हिजो शुक्रबार मन्जुलाई लिन हजुरआमा सीता, मन्जुकी जेठी माइजु सुनिता थापा र सुनिताको सात वर्षका छोरा सुशान्त आले तुलसीपुर बजार आएका थिए ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाका शुक्रबार राती करिब सवा ८ बजेको समयमा तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बेतने खोलाले बगाएको हो । अटोमा चालकसहित पाँच जना सवार रहेको र चालकसहित तीन जना सकुशल उत्रन सफल भए तर हजुरआमा सीता र नातिनी मञ्जुलाई खोलाले बगायो ।
प्रहरीका अनुसार अटो चालक तुलसीपुर-४ खाद्रे ४६ वर्षका हरीकिशन बिक, सोहि ठाँउकै ३४ वर्षको सुनिता थापा र उनका छोरा ७ वर्षका सुशान्त आले सकुशल उत्रन सफल भएका थिए ।
अटो चालक हरीकिशन र अटोमा सवार सबैको गन्तव्य एउटै थियो तुलसीपुर-४ खाद्रे गाउँ । तुलसीपुर बजारबाट करिब ९ किलोमिटरको दरीमा घोराही-तुलसीपुर सडकखण्डको प्रसेनीबाट उत्तरमा पर्छ खाद्रे गाउँ ।
हरीकिशन शुक्रबारको अन्तिम टिपमा घर फर्कदै थिए । तुलसीपुरबाट प्रसेनी, बम्नै, बोकटि, जितपुर, नवलपुर हुँदै खाद्रे पुग्न बेतने खोला डाबरको झोलुङ्गे पुल नजिकै र थम्मन चौतारी नजिकै गरेर एउटै खोला तीन ठाउँमा पार गर्नुपर्छ ।
तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माका अनुसार सबैभन्दा पहिले पार गर्नुपर्ने डावर नजिकैको खोलामा बाढी सामान्य नै रहेकाले सजिलै पार भयो।
पानी परिरहेकाले खोलामा पानीको बहाव भने बढ्दै थियो । पहिलो भङ्गालो सहजै पार गरेका उनिहरू दोस्रो भङ्गालो भने पार गर्न सकेनन् । कार्यपालिका सदस्य विश्वकर्माले चालकको भनाई उदृध गर्दै भन्नुभयो-‘खोला पार गर्न लाग्दा बाढीको बहाव बढिरहेको महशुस भयो र अटोमा सवार सबै जनालाई छिटो ओर्लन भने,तर भन्दा भन्दै उर्लिदो भेलले अटोसंगै ५५ वर्षकी सीता आले र उहाँकी १७ वर्षकी नातिनी मञ्जु खड्कालाई क्षण भरमै बगायो ।
अटो चालक हरिकिशन विकको भने तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । चालक अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको कार्यपालिका सदस्य विश्वकर्माले जानकारी दिनुभयो ।
चालक हरिकिशन विक सहित सीताकी जेठि बुहारी सुनिता थापा र नाति सुसान्त आले भने सकुशल उत्रन सफल भए । उनिहरू उत्रिएपछि स्थानीयलाई खबर गरेका थिए । त्यस लगत्तै खोजि कार्यलाई तिव्र बनाईएको थियो ।
खोलामा बगेकी सीताको शब घटनास्थलदेखि करिब १५ किलोमिटर टाढा ग्वारखोला तुलसीपुर-१५ मलवारमा शनिबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
मृतक सीताका श्रीमान छविलाल आले शिक्षक हुनुहुन्छ । उहाँ हाल गाउँमै रहेको जनश्रम मावि खाद्रेमा अध्यापन गर्दे आउनुभएको छ ।
अटोसंगै बगेकी सिताकी नातिनी मन्जु खड्काको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उहाँको अहिले पनि प्रहरी, नेपाल आर्मि,जनप्रतिनिधि र स्थानीयले खोजि गरिरहेको तुलसीपुर-७ का अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो । खोलाले बगाएको अटोको इन्जिन भने शनिबार बिहान तुलसीपुर-७ बेत्रावतीमा रहेको बेत्रावती मन्दिरदेखि दक्षिण तर्फको भागमा फेला परेको स्थानीय सुरज केसीले जानकारी दिनुभयो ।