तुलसीपुर, २० भदौ।
बिहिबार विहान तुलसीपु उपमहानगरपािलका परिसरबाट नरप्रमुख टिकाराम खड्कासहित स्वास्थयकर्मीकाे टाेली हातमा डाडु लिएर निस्कियाे । बजारमा आाउजाउ गरिरहेका वटुवाहरू कर्मचारीका हातमा डाडु देखेपछि अलमलमा परे । यसाे हेर्दा आन्दाेलन जस्ताे तर त्यसाे थिएन । याे दृश्य थियाे तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीहरूलाई सचेत बनाउने र लार्भा नष्ट गर्न अभियान ।बर्सातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो अभियान थालिएको हो।
यो अभियान उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन महाशाखाको आयोजनामा आज (बिहीबार) देखि सुरु भएको हो। अभियानको पहिलो दिनमा नगर प्रमुख टिकाराम खड्का, महाशाखा प्रमुख, स्वास्थ्यकर्मी, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारहरूको टोलीले विभिन्न क्षेत्रहरूमा सचेतना कार्ड वितरण गर्दै लार्भा नष्ट गरेका छन्। यस क्रममा विपि चोक, पिपलवोट ओरालो, न्यूरोड, नयाँ बसपार्कलगायतका स्थानमा घर तथा पसलका वरपर पानी जम्न नदिने र सरसफाइ गर्ने अपिल गरिएको छ।
अभियानको क्रममा सबैभन्दा धेरै कवाड संकलन केन्द्र, होटल र केही घरहरूमा राखिएका गमला, टायर, ड्रमहरूमा सरसफाइको अभाव देखिएको थियो, जहाँबाट भेटिएका लार्भा नष्ट गरिएको छ। अभियानका क्रममा जोखिम देखिएका क्षेत्रहरूमा हरेक सातामा अनुगमनलाई तीव्रता दिने जनस्वास्थ्य महाशाखाका सिहेव विष्णु गिरीले जानकारी दिनुभयो। अब प्रत्येक साताको शुक्रबार सचेतना अभियान र विद्यालय शिक्षा कार्यक्रमसँगै लार्भा नष्ट अभियानलाई निरन्तरता दिने योजना अघि सारिएको सिहेव गिरिले बताउनुभयाे
।
उहाँले डेङ्गीबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै यसका लागि ठोस उपचार नभएको, तर लक्षणअनुसार उपचार गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो शरीरमा प्लेटलेट्सले रगत जमाउने काम गर्छ तर यसको मात्रा घटेमा समस्या बढ्न सक्छ, त्यसैले सबैलाई सचेत रहन आग्रह गर्दछु।”
तुलसीपुरमा गत वर्ष १ सय ९१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो। चालू वर्षको साउन महिनामा २२८ जनाको जाँच गरिएकामा ८९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताउनुभयो। उहाँका अनुसार, पुष्टि भएका मध्य २० जना अस्पताल भर्ना भएका थिए भने अन्य सबै सामान्य उपचारपछि निको भएका छन्।
डेङ्गी सङ्क्रमण भएमा एक्कासि ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन्। जटिल अवस्थामा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने महाशाखा प्रमुख ओमपी न्यौपानेले बताउनुभयो। बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवतीहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।
नगर प्रमुख टिकाराम खड्काले नगरवासीलाई डेङ्गीबाट जोगिन सतर्कता अपनाउन अपिल गर्दै, वातावरणीय सरसफाइमा स्थानीय सरकारको मात्र भर नपरी नागरिकहरूले पनि आफ्नो कर्तव्यका रूपमा पालना गर्न आग्रह गर्नुभयो। उहाँले यसो गरेमा सम्पूर्ण समुदाय नै स्वस्थ रहने बताउनुभयो।