दाङ, २७ भदौ ।
तुलसीपुरमा बेवारिसे शब व्यवस्थापनमा चुनौति देखिन थालको छ । शव व्यवस्थापनका लागि उपमहानगरपालिकाले भाडामा लिएको जग्गाको सम्झौता सकिएपछि बेवारिसे शब व्यवस्थापनमा चुनौति देखिन थालेको हो ।
उपमहानगरपालिकाले पछिल्लो एउटा शब १४ दिनपछिमात्रै व्यवस्थापन गरेको छ । तुलसीपुर-६ मा रहेको मानव सेवा आश्रममा आश्रित ७९ वर्षिय वृद्धाको भदौ १२ गते मृत्यु भएको थियो । ति वृद्धाको शब उपमहानगरपालिकाले १४ दिनपछि बुधबारमात्रै व्यवस्थापन गरेको हो । ७९ वर्षिय वृद्धा दम्पतीलाई उनिहरूकाे सहारा काेही नभएपछि दाङकाे बबई गाँउपालिका-२ बाट करिव तिनबर्ष अघि मानव सेवा आश्रम दाङले उद्बार गरेर तुलसीपुर स्थित आश्रममा ल्याएकाे थियाे।आश्रममा ल्याएकाे केही समयमै उनका श्रिमानकाे पनि मृत्यु भैसकेको छ ।

यसरी उद्धार गरेर ल्याइएको थियाे वृद्ध दम्पती मानव सेवा आश्रम दाङमा
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शवको पोष्मार्टमपछि प्रहरीले १९ गते तुलसीपुर उपमहानगरपालिकाको फोहर व्यवस्थापन शाखालाई शव व्यवस्थापनका लागि पत्राचार गरेका थियो । तर प्रहरीले पत्राचार गरेको एक हप्तापछि मात्रै शब व्यवस्थापन भएको हो ।
बेवारिसे शब व्यवस्थापन गर्ने ठाउँ निश्चित नहुँदा पछिल्लो समय समस्या हुन थालेको एक कर्मचारीले बताए । नगरले बेवारिसे शब व्यवस्थापनका लागि तुलसीपुर-१२ का अमरबहादुर बस्नेतको जग्गा भाडामा लिइएको थियो । तर त्यो सम्झौता २०८१ असार ४ गते सकिएपछि नगरले सोहि सम्झौतालाई निरन्तरता पनि दिन सकेन भने अहिलेसम्म नयाँ ठाउँको समेत खोजि गरेको छैन् ।
२०७८ सालमा गरिएको सम्झौताअनुसार शुरुमा मासिक ९ हजार भाडा थियो । सम्झौतामा हरेक आर्थिक वर्षमा १० प्रतिशतका दरले मूल्य बृद्धि गर्ने सम्झौता भएको तत्कालिन समयमा सरसफाई शाखामा कार्यरत खिमकान्त पाण्डेले बताउनुभयो ।
कार्यपालिका बैठक समयमा बस्न नसकैकै कारण बेवारिसे शब व्यवस्थापनको जग्गा खोजिमा ढिलाइ भएको हो । स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसार महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक बस्नुपर्छ अनि आवश्यकताका आधारमा पटक पटक पनि बस्न सकिन्छ । तर नगरमा कार्यपालिका बैठक गत जेठ ३२ यता बस्न सकेको छैन् ।
समयमा कार्यपालिकाको बैठक बस्न नसक्दा यस्ता खालका समस्याहरु देखिन थालेको र यो अस्थिरता अझै लम्बिदै गएमा नागरिकहरुबाटै जनप्रतिनिधिहरु तिरस्कृत हुने अवस्था आउने तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो ।
महिनौंसम्म कार्यपालिका बैठक बस्न नसक्दा यस्ता विषयहरु उठाउन नपाएको उहाँले बताउनुभयो । यसबारेमा नगरप्रमुख टिकाराम खड्कासंग पटक-पटक कुरा गर्न खोज्दा पनि उहाँले कुरा गर्न चाहनुभएन । यसबारेमा उहाँको गैरजिम्मेवारीपन देखिएको छ ।
पालिकाले साउन महिनामा ४ वटा र भदौमा एउटा बेवारिसे शव व्यवस्थापन गरेको छ । तर निश्चित जमिन नहुँदा बेवारिसे शव व्यवस्थापनमा समस्या भएको छ ।

