दाङ, ३ असोज ।
लोक गायक अर्जुन सापकोटाले विद्यार्थीहरूलाई आफ्ना चर्चित गीतमार्फत नचाउँदै कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रमलाई रंगीन बनाउनुभएको छ ।
ज्ञानज्योति फाउण्डेसनले संचालन गरेको ज्ञानज्योति स्कुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा सापकोटाले आफ्नो लोकप्रिय गीतहरू गाएर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभयो । ‘बस्यौ अलक्कै’, ‘पानी परेको’, र ‘हावा चिसो चिसो’ लगायतका गीतमा विद्यार्थीहरू सापकोटासँगै छमछम नाच्दै रमाएका थिए ।
कार्यक्रमका गायक सापकोटासँग फोटो र भिडियो खिच्न विद्यार्थीहरूमा निकै उत्साह देखिएको थियो । गायकको लोकप्रियताले विद्यार्थीहरूलाई झन् बढी रौनक प्रदान गरेको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत मन बहादुर खड्काले विद्यार्थीहरूलाई आफ्ना ज्ञान र सीपहरू व्यवहारमा उतार्न आग्रह गर्नुभयो । विद्यार्थीहरूले सिकेको कुरा व्यवहारमा लागू गर्न नसके सफलता पाउन गाह्रो हुने भन्दै लगनशील र अनुशासित बन्न आग्रह गर्नुभयो ।
खड्काले विद्यार्थीहरूलाई समयको महत्व बुझेर अघि बढ्न प्रेरित गर्दै, आफ्नो सीप र क्षमतालाई जीवनमा सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जसले वातावरणलाई झन् उत्साहपूणर् बनाएको थियो ।
विद्यालयका सिइओ सुरेन्द्र जिसीले पनि विद्यार्थीहरूको सफलताको आधार अनुशासन र मेहनत भएको भन्दै लगनशीलता र शिष्टता नै शैक्षिक सफलताको आधार भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गर्नुभएको हो ।
विद्यार्थीहरूलाई स्वागत गर्न र उनीहरूलाई प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले नयाँ शैक्षिक वर्षको सुरुवातलाई विशेष बनाएको थियो। कार्यक्रमले विद्यार्थीहरूलाई मनोरञ्जन मात्र होइन, भविष्यप्रति जागरूक बनाउन महत्वपूणर् सन्देश पनि प्रवाह गरेको सिइओ जिसीले बताउनुभयो ।