२०८३ बैशाख २० गते आइतवार

स्वागत होइन, विदाई राम्रो होस् भन्ने चाहना छ: डीएसपी ठकुरी



तस्बिर :टेकराज भण्डारी

तुलसीपुर, २२ असाेज।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा भर्खरै सरूवा भएर आउनुभएका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल ठकुरीले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आगमन भन्दा विदाई सुखद बनाउने गरी काम सुरू गरेको बताउनुभएको छ।

तुलसीपुरलाई देशको असुरक्षित सहर रहेको भाष्य निर्माण गरिरहेका बेला अब शान्त र सुरक्षित सहरको पहिचानका लागि पहिलो कदम अघि बढाएको बताउनुभयो। सत्य र तथ्यमा आधारित रहेर समाचार प्रवाह गर्नु पत्रकारको दायित्व रहेको भन्दै गलत भए खबरदारी र सुधारात्मक विषयमा सहयोग गर्न आग्रह गर्नुभयो।

इलाका प्रहरी तुलसीपुरको कमाण्ड सम्हाले लगत्तै विभिन्न व्यापारी व्यवसायीहरूका संगठनलगायतको खादा-मालामै डीएसपीहरू बधाई लिन व्यस्त हुन्छन् नि भन्ने पत्रकारहरूको प्रश्नमा आफुले तेस्ता कुनैपनि स्वागत तथा बधाई कार्यक्रममा खादा-माला लगाउन नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तुलसीपुर लागू औषध कारोबारी र प्रयोगकर्ता, चोरीका समस्या जसमा बाईक चोरीका समस्या अत्यधिक रहेको जानकारी पाएकाे ठकुरीले बताउनुभयो। उहाँ सरूवा भएर आएको एक हप्तामै तुलसीपुरका विभिन्न स्थानबाट ४ वटा बाईक चोरी भएको र त्यसमा दुईवटा फेला परेको जानकारी दिनुभयो भने हराएका अन्य बाईक खोज्ने काम भैरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा पत्रकार गणेश आचार्य, बालाराम खड्का, दिपक बोहोरा लगायतले प्रहरीमा न्यायका लागि आउने सेवाग्राहीले जाहेरी लेखाउँदा चर्को मूल्य तिर्नुपर्ने समस्या भएको, तुलसीपुरलाई सुरक्षित सहरको रूपमा विकास गर्न थप योजना निर्माण गर्नुपर्ने, नदीजन्य पदार्थको चोरी निकासी र बजार व्यवस्थापनमा प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सूचना प्रबाहलाई छिटाे र छरिताे बनाउन सुझाव दिएका थिए।

जवाफमा डिएसपी ठकुरीले आफुले पहिलो प्रयासस्वरूप कार्यालयको मूल गेट नजिकै ‘विचौलिया प्रवेश निषेध’ लेखिएको पोस्टर राखिएको बताउनुभयो। सेवाग्राहीले निवेदन लेखाउँदा चर्को शुल्क तिर्नुपर्ने गुनासो आएकोले सो समस्याको समाधान तत्कालै गरिने बताउनुभयो।

यस्तै बजारमा ठूलाे स्वरमा चलाउने मोटरसाईकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो।

यसअघिका डीएसपी ठाकुरप्रसाद पोखरेलको काठमाडौँ उपत्यका शसस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा सरूवा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय उडानतर्फबाट ठकुरी तुलसीपुर सरूवा भएर आउनुभएको हो।

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार