दाङ, १९ कार्तिक ।
लामो समयदेखि अलपत्र रहेको घोराही-तुलसीपुर चारलेन सडकको ठेक्का प्रक्रिया अझै अन्यौलमा छ । चारलेन सडकको लागि छिट्टै ठेक्का हुने चर्चा चलेपनि ठेक्का प्रक्रियाबारे अझै ढिलाई हुने देखिएको छ ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले चारलेन सडकको ठेक्का लाग्ने टुंगो नरहेको बताउनुभयो । उहाँले ठेक्का लाग्न तीन महिनाभन्दा बढी समय लाग्ने बताउनुभयो ।
निर्माणधिन चारलेन सडकको ठेक्का तोडिएको एक वर्षभन्दा बढी भइसकेको छ, तर नयाँ ठेक्का भने हालसम्म लाग्न सकेको छैन् । यसअघि निर्माण कम्पनीले काम नगरेपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय निर्माण कम्पनी तथा इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसंग ठेक्का सम्झौता रद्द गरेको थियो ।
ठेक्क सम्झौता तोडेपछि नेपाल सरकारको लगानीमा मर्मत गरिएको सडक पुनः जीणर् बन्न थालिसकेको छ, तर लगानीको सुनिश्चित नहुँदा सडक विस्तारको ठेक्का भने अझै अनिश्चित छ । बाहिर भने चारलेनको ठेक्का लागि सकेको हल्ला चलेको छ । यो ठेक्का लागेको कुरा नागरिकहरुलाई भ्रम छर्न मात्रै रहेको प्रमुख विष्टको भनाई छ ।
ठेक्का लाग्नको लागि योजना आयोगबाट योजना स्विकृत भएको तर अर्थ मन्त्रालयबाट स्रोतको सुनिश्चितता हुन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले स्रोतको सुनिश्चिता पछि मदन भण्डारी राजमार्ग निर्देशनालयले ठेक्का आब्हान गरेपछि मात्रै ठेक्का लाग्ने बताउनुभयो । प्रमुख बिष्टले समन्वयमात्रै गरिरहेको बताउनुभयो ।
सडक निर्माणमा ढिला हुँदा नागरिकलाई सास्ती भोग्नुपरेको छ । साँघुरो सडकमा सवारी साधनको चाप बढेको छ । सडकको दुराअवस्थाले गर्दा धेरैले मृत्युवरण गर्नुपरेको छ ।