दाङ, २१ कार्तिक ।
तिहार पर्व सकिएसँगै जन्मथलोमा गएकाहरु कर्मथलोमा फर्किनेक्रम शुरु भएसंग सार्वजनिक सवारी साधानमा चाप बढेको छ । गाउँभन्दा पनि सहरतिर जानेको चाप धेरै रहेको यातायात व्यवसायीले बताएका छन् ।
तिहार पर्वको पाँच दिन लामो उत्सवमा विशेष गरी देउसी-भैलो, दाजु-भाइको टीका, र परिवारसँगको भेटघाटले गर्दा वर्षभरि घरपरिवारबाट टाढा रहेकाहरू गाउँघर जाने गरेका छन्।
तिहार सकिएलगत्तै कर्मथलोमा फर्किनको कारण सार्वजनिक सवारीमा अत्याधिक चाप देखिन थालेको यातायात व्यवसायीले बताएका छन् । केही ठाउँमा यात्रुको चापलाई व्यवस्थापन गर्नका लागि थप सवारी साधन परिचालन गरिएको छ ।
यातायात व्यवसायीका अनुसार देशका मुख्य सहरतर्फ फर्किने यात्रुको चाप अझै केही दिनसम्म उच्च रहनेछ । कतिपय यात्रुहरूले लामो समय बस्नुपर्ने वा उभिएर यात्रा गर्नुपर्ने बाध्यता व्यहोर्नु परेको छ । बस, माइक्रोबस लगायतका सवारी साधनमा यात्रुहरूको भीड बढेसँगै टिकट पाउन समस्या भएको यात्रु दिपेश महताराले बताउनुभयो ।
यसैबीच, कतिपयले गन्तव्यसम्म पुग्नका लागि विकल्पका रूपमा आन्तरिक उडानलाई पनि प्रयोग गरिरहेका छन् । गाउँमा भेला भएका परिवारका सदस्यहरू पुनः आफ्नो गन्तव्यमा फर्किंदा गाउँ फेरि सुनसान देखिन थालेका छन् ।