२०८१ मङ्सिर २४ गते सोमवार

बखरियावस्ती जाेगाउन दुई कराेड बढिकाे लागतमा तटबन्ध गरिँदै 



दाङ, २६ कार्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को बखरियाको वस्तीलाई नदि कटानबाट रोक्न बबई नदिको किनारामा तटबन्ध गरिने भएको छ । वर्षायाममा नदिको बहाव रोक्नका लागि तटबन्ध निर्माण गर्न लागिएको हो ।

तटबन्ध निर्माणको लागि आज शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेलले निर्माण हुन लागेको तटबन्धको शिलान्यास गर्नुभएको हो ।

उहाँले वस्तीका नागरिकलाई सुरक्षित गराउन तटबन्ध निर्माण गर्न लागिएको बताउनुभयो । लामो समयको प्रयासपछि बखरियामा तटबन्ध निर्माणको योजना पार्न सफल भएको उहाँले बताउनुभयो । ‘तटबन्ध निर्माणको शुरुवात भएको छ, समयमै निर्माण कार्य पुरा हुनेछ ।’ उहाँले भन्नुभयो-‘लामो समयको प्रयासपछि यो योजना पार्न सफल भएका हौँ ।’

तटबन्ध निर्माण गर्नका लागि भ्याटबाहेक २ करोड ५६ लाखको बजेट रहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङका प्राविधिक प्रमुख श्रीध्वज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर-१३ को बखरिया साइडतिर ४ सय ८० मिटर र तुलसीपुर-१२ को कचिलातिर १८० मिटर तटबन्ध निर्माण गरिने भएको हो । तटबन्ध चार मिटर अग्लो र ६ मिटर चौडाइको निर्माण गरिने प्राविधिक प्रमुख अधिकारीले  बताउनुभयो ।

जेडी एड्भेन्चर निर्माण सेवा भक्तपुरले १८ महिनामा काम सक्नेगरी ठेक्का लिएको छ । गत आर्थिक वर्ष २०८०/२०८१ को अन्तिमतिर ठेक्का सम्झौता भएपनि काम ढिला गरी शुरु हुन लागेको छ ।

निर्माण कम्पनिका प्रतिनिधि जीवन केसीले निर्माण ढिला शुरु भएपनि तोकिएको समय अवधिभन्दा पहिला नै काम सक्ने प्रतिवद्धता जनाउनुभएको छ । ‘वर्षातको समयमा नदिमा काम गर्न नमिल्ने भएकाले ढिलो गरी शुरुवात हुन लागेको हो ।’ उहाँले भन्नुभयो-‘तोकिएको अवधिमा निर्माण कार्य पूरा हुनेछ।’

बखरियामा करिब ९५ घरधुरीको बसोबास छ । तटबन्ध नहुँदा बखरियाको वस्ती नै वर्षायाममा डुबानमा पर्ने गरेको छ । वस्तीमा २०७१ सालमा बाढी पसेपछि भौतिक क्षति धेरै भएको थियो । स्थानीयले अहिले पनि वर्षायाममा त्रासमा बस्नुपर्ने अवस्था रहेको बताएका छन् ।

वस्तीलाई बाढीबाट सुरक्षित गर्नका लागि करिब ११ वर्षपछि तटबन्ध निर्माण लागेकोमा निकै हर्षित भएको स्थानीय अगुवा देवीराम कुसारीले बताउनुभयो ।

उहाँले तटबन्ध निर्माणका लागि स्थानीयले आवश्यक सहयोग गर्ने समेत बताउनुभयो । ‘हाम्रो समस्या संचारमाध्यममा थुप्रै आयो, हामीले वर्षायाममा निकै सास्ती भोग्नुपरेको छ ।’ उहाँले भन्नुभयो-‘अहिले करिब ११ वर्षपछि हाम्रो माग सुनुवाई भएकोमा निकै हर्षित छौँ, आशा छ तोकिएको अवधिमा निर्माण कार्य पूरा हुनेछ ।’

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार