दाङ, २० मंसिर ।
दाङको गहते-बाघमारे-हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरु भएको छ । सडकबीचमा पर्ने उक्त खोलामा बक्स कलभर्ट पुल निर्माण हुने छ ।
त्यसका लागि शारदा निर्माण सेवासंग २ करोड १२ लाख ६४ हजार रुपैयाँमा सम्झौता भएको छ । बहुवर्षीय ठेक्काका रूपमा रहेको उक्त पुल निर्माण भएमा आवतजावतमा सहज हुनेछ ।
यस अघि पुल नहुँदा वर्षाको समयमा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको छ । तर,अब त्यो समस्या हट्ने अपेक्षा स्थानीयको छ । यस्तै सोही सडकको बौलाहखोलामा पनि पुल निर्माणका लागि सोही निर्माण कम्पनीसंग सम्झौता भएको छ । बहुलाखोलाको काम भने सुरु भएको छैन् ।
गएको असारमा सम्झौता भएको भमके खोलाको पुल निर्माण कार्य १८ महिना भित्र सक्नु पर्ने सम्झौता रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिश कुमार अर्यालले बताउनुभयो ।
अहिले सम्झौता गरेर काम गर्नुपर्ने भएपनि प्रयाप्त बजेट नहुँदा भने समस्या भएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले पनि ७५ करोड बढि कार्यालयको दायित्व तिर्न बाँकी छ । तर, अहिले बजेट १० करोड मात्रै आएको भन्दै त्यसले नपुग्ने उहाँले बताउनुभयो ।