२०८१ फाल्गुन ६ गते मङ्गलवार

फिल्म ‘कर्मा’ को शुभ मुहुर्त: छायाङ्कन दाङबाट सुरु



दाङ, २८ मंसिर।

फिल्म कर्मा को शुभ मुहुर्त आज(शुक्रबार) दाङको धारापानीस्थित पाण्डवेश्वर मन्दिरमा गरिएको छ। अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरी सहितका कलाकारहरूको उपस्थितिमा क्यामेरा पूजा गर्दै मुहुर्त कार्यक्रम सम्पन्न भएको हो।

फिल्मको छायाङ्कन आजैबाट सुरु भएको छ। प्रारम्भिक छायाङ्कन विश्वकै अग्लो त्रिशूल रहेको पाण्डवेश्वर मन्दिरबाट सुरु भएको छ भने दाङका मुख्य शहरहरू घोराही, तुलसीपुर हुँदै पश्चिम हापुरे तथा रुकुम पश्चिम लगायतका क्षेत्रहरूमा छायाङ्कन हुनेछ।

फिल्म आर्टिस्टिक इन्टरटेनमेन्ट फिल्म्सको ब्यानरमा निर्माण भइरहेको छ। यसलाई निर्देशक सौरभ चौधरीले निर्देशन गर्दैछन्। चौधरीले यसअघि ‘लभ डायरीज’, ‘अगस्ते’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्। आगामी नयाँ वर्षको अवसर पारेर चैत २९ गते फिल्म प्रदर्शन गरिने तयारी गरिएको छ।

फिल्ममा विपिन कार्की र उपासना सिंह ठकुरीका अलावा मुकुन भुषाल, दिव्यदेव, अनिल बुढाथोकी लगायतका कलाकारहरूको भूमिका रहेको छ।

फिल्मका निर्माता बसन्त लम्सालले करिब ४ करोडको बजेटमा फिल्म निर्माण भइरहेको जानकारी दिए। समाजिक तथा मौलिक कथावस्तुलाई आधार बनाएर निर्माण भइरहेको यस चलचित्रले नयाँ सन्देश दिने उद्देश्य राखेको बताइएको छ।

निर्माता लम्सालका अनुसार आफू दाङकै माटोमा जन्मेहुर्केको हुनाले दाङलाई विश्वसामु चिनाउन धेरैजसो दृश्य यहीँ छायाङ्कन गर्ने योजना रहेको छ। निर्माण पक्षले ‘कर्मा’ लाई विश्व सिनेमा बजारसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको बनाउने दाबी गरेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार