२०८३ बैशाख ४ गते शुक्रवार

दुई दिदीबहिनी स्कुल नआए कक्षा खाली!



दाङ,१५ पुस ।

कोठाको भित्ता बाख्राले सिङ्गौरी खेलेर भत्काए जस्तो देखिन्छ। वर्षौंदेखि मर्मत सम्भारको काम नभएकोजस्तो,मानौं यहाँ कोही बस्दैन।

छेउमै मोटरबाटो, छिनछिनमै गाडीहरू हुइकिन्छन्। साँघुरो बाटो, त्यसैमाथि गाडीको हुटमासमेत, यात्रुहरू टनक्कै बसेर ओहोरदोहोर गरेको दृश्य कक्षा कोठाबाट विद्यार्थीहरूले नियाल्छन्।

गाडीले उडाएको धुलोको केही अंश हुटमा चढेका यात्रुले लिन्छन्, अनि केही धुलो त्यही मोटरबाटोको छेउमै रहेको विद्यालयमा पढिरहेका विद्यार्थीलाई छोडेर गाडी गन्तव्यमा लाग्छ। यो क्रम दिनहुँ निरन्तर चलिरहन्छ।

अध्ययनरत विद्यार्थीहरू न धेरै साथीभाइसँग घुलमिल हुन पाएका छन्, न त सहज तरिकाले पढ्न नै। कक्षा ३ मा एक घरका दुई दिदीबहिनी छन्। उनीहरू एक दिन विद्यालय नआए, त्यो दिन कक्षा शून्य रहन्छ।

यो दृश्य हो दाङको तुलसीपुर उपमहानगरपालिका-३ राम्री कल्लेकोट सातवासमा रहेको प्राथमिक विद्यालयको।

संगीता थापा र कविता चौधरी यही विद्यालयको कक्षा ३ मा अध्ययनरत दुई दिदीबहिनी हुन्। संगिताको सानी आमाको छोरी हुन् कविता। संगिता अहिले ९ वर्षकी भइन् भने कविता ८ वर्षकी छन्। कविताको घर बाँकेको नेपालगञ्ज हो। कविताका बाबु-आमा ज्याला मजदुरीका लागि भारत गएका कारण उनी ठूलीआमाको घर सल्यानको कपुरकोट गाउँपालिका-३ लामीडाँडामा बसेर दाङमा अध्ययन गरिरहेकी छन्।

कवितासहित कक्षा ३ मा चालु शैक्षिक सत्रमा पाँच जना भर्ना भएका थिए। तर तीन जनाले भने शैक्षिक सत्रको बीचमै विद्यालय छोडिसकेका छन्।

उनीहरू सल्यानबाट दैनिक एकदेखि डेढ घण्टाको बाटो पैदल हिँडेर तुलसीपुरमा रहेको यो विद्यालयमा पढ्न आउँछन्। नजिकमा विद्यालय नहुँदा पहाडी बाटोको चुनौतीपूर्ण यात्रा र थकानले गर्दा उनीहरूको पढाइसमेत प्रभावित हुने गरेको अभिभावक निशा थापा बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “आजभोलि बिहान उठ्दा नउठ्दै स्कुल जाने समय भइहाल्छ। हतार-हतारमा खाना खाएर आठदेखि साढे आठको बीचमा विद्यालय पठाउनै पर्छ, नत्र उनीहरू समयमै स्कुल पुग्न सक्दैनन्। साँझमा पनि झिसमिसेमा थाकेर आइपुग्छन्। थाकेर आएकाले होमवर्क गर भन्दा मान्दैन खाना  खाएपछि होमवर्क नै नगरी लुटुक्क निदाउँछन्।”

विद्यालयमा चालु शैक्षिक सत्रमा बालविकासदेखि कक्षा ५ सम्म ४८ जना विद्यार्थी भर्ना भएका थिए। गतवर्षको तुलनामा अहिलेको विद्यार्थी संख्या १० जनाले कम हो। दैनिक विद्यालय आउने विद्यार्थीको संख्या भने आधाले कम छ। अर्थात्, करिब २४ जना नियमित विद्यालय आउने गरेका छन्। नियमित आउने विद्यार्थीमध्ये पनि १५ जना सल्यानको लामीडाँडा र बाख्रेखोला गाउँका हुन्।

विद्यालयको भौतिक संरचना समेत जिर्ण अवस्थामा छ। कक्षा कोठाको अभाव भएपछि बालविकास र कक्षा एकलाई गाभेर बहुकक्षा शिक्षण सञ्चालन भइरहेको छ।

सल्यानको लामीडाँडा, बाख्रेखोला, दाङपानी,धैरेनीका साथै तुलसीपुरको सातवास, कल्ले, बल्ले लगायतका क्षेत्रबाट यो विद्यालयमा विद्यार्थी पढ्न आउने गरेका छन्।

आफूले पढ्दाको विगत सम्झँदै अभिभावक शारदा गिरी भन्नुहुन्छ, “हामी पढ्दा करिब तीन सय विद्यार्थी हुन्थे। खै, आजभोलि अलिअलि पैसा कमाउने भएर हो कि, सबैले अन्यत्र पढाउन थाले। यहाँ त केवल ज्याला मजदुरी र बाबु-आमाको सहारा नभएका धेरैजसो बालबालिका मात्रै देख्छु।”

विद्यार्थी संख्या कम भएको सूचना सञ्चारमाध्यममा प्रकाशन भए, कतै हाम्रो विद्यालय झनै बन्द हुने त होइन भन्नेमा अभिभावकहरू त्रसित छन्।

विद्यालयले गुणस्तरीय शिक्षा र आधारभूत सुविधा उपलब्ध गराउन सके अझै विद्यालयको अवस्था सजिलै सुधार्न सकिने ६५ वर्षीय अभिभावक कर्मी रोका बताउनुहुन्छ। विद्यालयको भौतिक संरचनामा स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ।

विद्यार्थी संख्या वृद्धिका लागि आफूहरू तयार भए पनि विकट क्षेत्रमा राज्यको नजर पर्न नसकेको उहाँले गुनासो गर्नुभयो।

संविधानमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको छ। तर बालबालिकाहरूले दैनिक रूपमा यसरी लामो दूरी पार गर्नु उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्ने स्वास्थ्यका जानकारहरू बताउँछन्।

विद्यालयमा आधारभूत पूर्वाधार र शैक्षिक गुणस्तरको कमी पनि मुख्य समस्या हो। जसका कारण अभिभावकहरूको असन्तोषले गर्दा विद्यार्थी अन्य विद्यालयतर्फ जाने क्रम बढिरहेको छ।

तर प्रधानाध्यापक टेकराज गुरुङ भने यसमा सहमत हुनुहुन्न। विद्यालयमा हरेक वर्ष विद्यार्थीको संख्या घट्नुको मुख्य कारण अभिभावकहरू रोजगारका लागि विदेश जाने वा शहरी क्षेत्रमा बसाइँ सरेर जाने गरेका बताउनुहुन्छ।

उहाँका अनुसार अन्य नजिकका क्षेत्रहरूमा नयाँ निजी विद्यालयहरू खुल्दा अभिभावकहरूले आफ्ना छोराछोरीलाई त्यता पठाउन थालेकाले हरेक वर्ष विद्यार्थी संख्या घटेको दाबी गर्नुहुन्छ।

विद्यालयमा पर्याप्त कक्षाकोठा, पिउने पानी, शौचालय, खेलकुदका साधनलगायत आधारभूत सुविधाको अभावले गर्दा विद्यार्थीहरू वैकल्पिक विद्यालय रोज्न बाध्य भएको प्रधानाध्यापक गुरुङले बताउनुभयो।

तुलसीपुर उपमहानगरपालिकामा मात्रै ८३ वटा सामुदायिक विद्यालय रहेका छन्। ग्रामीण भेगका अधिकांश विद्यालयहरूको हालत उस्तै छ।

सरकारको ‘जहाँ विद्यार्थी, त्यहाँ लगानी’ नीतिले दुर्गम क्षेत्रमा केही प्रभाव पार्ने गरे पनि भौतिक पूर्वाधारको क्षेत्रमा लगानी हुन नसकेको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी स्वीकार्नुहुन्छ।

तर दुर्गम क्षेत्रका विद्यालयहरूलाई सिकाइ केन्द्रकै रूपमा विकास गर्नेगरी पूर्वाधार र शैक्षिक सुधारका लागि पालिकाले योजनावद्ध रूपमा काम गरिरहेको प्रमुख भण्डारीले बताउनुभयो।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने क्रम चलिरहँदा, कतिपय विद्यालय छिमेकी विद्यालयमा गाभिएका छन्। तर दुर्गम क्षेत्रमा भने, विद्यार्थी संख्या थोरै भए पनि बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित नहुने व्यवस्था सरकारले मिलाउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार