२०८३ बैशाख १८ गते शुक्रवार

लुम्बिनी सहित तिन प्रदेशमा ठूलो वर्षा



दाङ, २ भदौ ।
पछिल्लो ६ घण्टामा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार गोरखाको आरुघाटमा रहेको मापन केन्द्रमा ६ घण्टामै १ सय ८ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै नुवाकोट, दैकलेख, रोल्पा, दाङ, कपिलवस्तु, पाल्पा, पर्सा लगायतका जिल्लामा पनि अति ठूलो पानी परेको छ ।

पछिल्लो एक घण्टामा भने बागमती प्रदेशमा वर्षा कम भएर गण्डकी, लुम्बिनी हुँदै पश्चिम तराईमा पानी परिरहेको छ । ठूलो पानी परेसँगै विभिन्न नदी तथा खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाले सूचना निकालेर प्यूठान, कपिलवस्तु, गोरखा, पाल्पा, सिन्धुपाल्चोकका जिल्लामा रहेका साना तथा ठूला नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । आज दिउँसो पनि गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ॥

विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १ सय ८१ पुग्यो
दाङ, २ भदौ ।
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ८१ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कणर्ाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कणर्ाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कणर्ाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कणर्ाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ॥

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार