दाङ,६ पुस ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा झन्डै साढे तीन करोड विद्युत महशुल उठ्न बाँकी रहेको छ । तुलसीपुर वितरण केन्द्रले करिब ६ हजार सरकारी र गैर-सरकारी कार्यालय तथा घरायसी ग्राहकहरूबाट विद्युत महशुल उठ्न बाँकी रहेको जनाएको हो ।
प्राधिकरणले बक्यौता विद्युत महशुल बुझाउनको लागि पटक पटक सूचना गदै आएको छ । बक्यौता महशुल बुझाउनको लागि ग्राहकहरुलाई जानकारी गराउदा पनि अटेर गरेपछि प्राधिकरण अभियानकै रुपमा ग्राहकहरुको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।
समयमै विद्युत महशुल नबुझाउने ग्राहकहरुको विद्युत महशुल संकलन विनियमावली, २०७८ को विनियम १० तथा नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण नियमावली, २०७८ को विनियम ३१ बमोजिम अभियानकै रुपमा लाइन काट्न सुरु गरेको तुलसीपुर वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताउनुभयो ।
विद्युत महसुल नतिर्ने गा्रहकहरुको लाइन अभियानकै रुपमा काट्ने क्रम तीव्र पारिएको गोशलीले बताउनुभयो । विनियमअनुसार महसुल समयमै नतिर्ने र ठूलो बक्यौता रहेका सरकारी तथा गैर-सरकारी कार्यालय, ग्राहकलगायतको लाइन काट्ने क्रम तीव्र पारिएको प्रमुख गोसलीको उहाँको भनाइ छ।
नियमले मिटर रिडिङ गरेको ६० औं दिनसम्म पनि महशुल नतिर्ने ग्राहकको विद्युत बिना सूचना काट्न सकिने व्यवस्था रहेको छ । यस्तै घरायसी प्रयोजन र सडक बत्तिको धेरै बक्यौत रहेको प्राधिकरणले जनाएको छ । बक्यौता विद्युत महशुल बुझाउनको लागि पटक पटक ताकेता गर्दा पनि नबुझाएपछि बाध्य भएर लाईन काट्न लागेको प्रमुख गोशलीले बताउनुभयो ।

