दाङ, १४ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तुलसीपुर– १२ रझेनामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
वडा नम्बर १२ आयोजना तथा नेपाल क्यानडा टुरीजम कल्चर एण्ड ट्रेड काठ्माण्डौ, तथा भिजन किवानीज क्लव अफ नेपालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि विशेषज्ञ सेवासम्मका सुविधा प्रदान गरिएको छ । तुलसीपुर-१२ का ६६ वर्षीय बारु थारुले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी लागेको बताउनुभयो ।
स्वास्थ्य जाँचसंगै सुगर र प्रेसरको औषधी पनि निःशुल्क रुपमा पाउँदा निकै खुसी लागेको उहाँको भनाई छ । सामान्य उपचारको लागि बजार जानुपर्ने हुन्थ्यो तर अहिले गाँउघरमा नै सेवा पाउँदा सहज भएको उहाँले बताउनुभयो । यस्तै जसपुरका पार्वती अधिकारीले महिला डाक्टरसंग पाठेघरको चेकजाँच गराएको बताउनुभयो । यसअघि कुनै अस्पतालमा यस्तो जाँच नगरेको उहाँले घरआँगनमै सेवा पाउँदा सजिलो भएको बताउनुभयो ।
नगर उपप्रमुख स्यानी चौधरीले महिला तथा जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरले योगदान दिने बताउनुभयो । यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वडा अध्यक्ष खुसीराम चौधरीले आर्थिक रूपमा कमजोर नागरिकलाई स्वास्थ्य सेवामा पहुँच दिन शिविर सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले वडाको स्वास्थ्य सेवा केन्द्रलाई भविष्यमा स्वास्थ्य चौकीमा स्तरोन्नति गरी ल्याब सेवा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । आगामी दिनमा तीनदेखि छ महिनाको अन्तरालमा यस्ता शिविरहरू सञ्चालन गर्ने वडाले योजना बनाएको उहाँले बताउनुभयो । शिविरमा १८० जनाले सेवा लिएका छन् ।
त्यस मध्येमा विशेषगरी महिलाहरुमा पाठेघरको समस्या देखा परेको स्त्रीरोग विशेषज्ञ विना श्रेष्ठले जानकारी दिनुभयो । पाठेघरमा मासु पलाएको, पाठेघरको मुखमा समस्या देखा परेको बताउनुभयो । समस्या देखा परेकालाई चेकजाँच गर्नको लागि सुझाव दिइएको छ । फिजिसियन डा. सुरेन्द्र विक्रम बस्नेतले सामान्य स्वास्थ्य परीक्षण र डेन्टल डा. दिपा न्यौपानेले दाँतसम्बन्धी सेवा तथा परामर्श प्रदान गर्नुभएको हो । शिविरको उद्घाटन वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको हो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख मोहन पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव गणेश कुमार आचार्यले गर्नुभएको हो ॥

