२०८१ असोज २१ गते सोमवार

दाङमा १२ औँ राष्ट्रपति कप रनिङ शिल्ड हुने



File Picture

 

तुलसीपुर, ७ असार ।
दाङको तुलसीपुरमा १२ औँ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आउदो असार १७ गतेदेखि १९ गतेसम्म बेलझुण्डी रंगशालामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा विभिन्न विधाका ६ वटा खेल समावेश हुने तयारी समितिका सदस्य सचिव पदमा चौधरीले बताउनुभयो । भलिवल, एथ्लेटिक्स, कराते, कवडि, तेक्वान्दो र उसु गरी ६ विधाका खेल प्रतियोगितामा समावेश छन् । तर उसु दाङमा स्थान अभावका कारण हुने छैन ।

प्रतियोगितामा स्थानिय तहबाट छनौट भएका खेलाडीहरुले भाग लिन पाउने छन् । स्थानिय तहमा यो प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने काम सम्पन्न भैसकेको छ । निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु यो प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

जिल्ला समन्वय समितिको आज घोराहीमा बसेको बैठकले दाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने निणर्य गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा राष्ट्रपति कप रनिङ शिल्ड तयारी समितिको बैठक बसेको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी लगायतका सरोकारवालाको उपस्थितिमा बैठक बसेको हो ।

प्रतियोगिताका लागि संघिय सरकारले सामाजिक विकाश डिभिजन कार्यालय मार्फत साढे ३ लाख रुपैया विनियोजन गरेपनि रकम अझै अपुग रहेको तयारी समितिले जनाएको छ ।

प्रतियोगिताका लागि करिब ७ लाख रुपैया आवस्यक पर्ने प्रतियोगिता समितिले जनाएको छ । हरेक बर्ष आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कोरोना भाइरसको संक्रमणका कारण विगत दुइ बर्ष आयोजना हुन सकेको थिएन ।।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार