२०८२ जेष्ठ १० गते शनिवार

तुलसीपुरमा प्रथम खुला पुरुष राष्ट्रिय खोखो प्रतियोगिता हुँदै



तुलसीपुर,२४ बैशाख । तुलसीपुरमा प्रथम खुला पुरुष राष्ट्रिय खोखो प्रतियोगिता-२०८२ सञ्चालन हुने भएको छ । आयोजक संस्था दाङ जिल्ला खोखो संघले प्रतियोगिताबारे बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

दाङमा राष्ट्रियस्तरको पहिलो प्रतियोगिता भएको संघका जिल्ला अध्यक्ष बालकृष्ण शाहले जानकारी दिनुभयो । साथै गत जनवरी १३ देखि १९ तारिखसम्म भारतको दिल्लीमा सञ्चालन भएको खोखो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको महिला र पुरुष दुबै समूहले द्वितीय स्थान हासिल गरेको हुँदा खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको जिल्ला अध्यक्ष शाहले बताउनुभयो ।

वैशाख २६ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशबाट १र१ वटा समूह र नेपाली सेनाको एउटा समूह गरी ८ वटा समूहले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने समूहले शुल्क तिर्नु नपर्ने र प्रत्यक समूहबाट उपस्थित १२र१२ जना खेलाडी र १र१ जना प्रशिक्षकको खाने बस्ने व्यवस्था आयोजकले नै गर्ने जिल्ला अध्यक्ष शाहले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि आयोजकले १७ लाख ६० हजार रुपैयाँ लागत अनुमान गरेको छ । जसका लागि तुलसीपुर उपमहानगरपालिकाले ४ लाख र लुम्बिनी प्रदेश खेलकूद विकास परिषद्ले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् भने बाँकी रकम जुटाउनका लागि तुलसीपुरका सबैजसो वडा कार्यालय तथा यस क्षेत्रका व्यवसायीहरुसँग सहयोग माग गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार, द्वितीय हुने समूहले २५ हजार र तृतीय हुने समूहले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिने छ । आज बुधवारसम्म प्रतियोगिता सञ्चालनको ८० प्रतिशत काम पूरा भएको छ भने ३ वटा समूह उपस्थित भइसकेको आयोजकले जनाएको छ ।

२८ गते प्रतियोगिता सम्पन्न भएसँगै २९ गते मैत्रीपुर्ण प्रतियोगिताका खेल्न भारतबाट एउटा समूह आउँदैछ । त्यसका लागि यी ८ वटा समूहबाट उत्कृष्ट खेलाडी छनौट गरेर एउटा समूह तयार गरेर भारतसँग मैत्रीपूर्ण प्रतियोगितामा सम्पन्न गर्ने तयारी रहेको जिल्ला अध्यक्ष शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार