दाङ, २१ असार ।
तुलसीपुरमा बजारबाट उत्पादन हुदै आएको फोहोरलाई व्यवस्थापन गरिने भएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई प्रसोधन गरेर प्रांगारिक मल उत्पादन गरिने भएको हो ।
उपमहानगरपालिकाले फोहोर प्रसोधनका लागि अत्याधुनिक मेसिन समेत जडान गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको सहकार्य, एसिया फाउण्डेसन र यूएसआईडीको संयुक्त आर्थिक सहयोगमा उक्त मेसिन जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका -६ स्थित रहेको ‘डम्पिङ साइड’मा तुलसीपुर बजारबाट उत्पादन भएको गल्ने फोहोरलाई प्रसोधित गरेर प्रांगारिक मल उत्पादन गर्ने मेसिनको परिक्षण गरेको छ ।
यो मेसिन नेपालमै पहिलो पटक जडान गरिएको एसिया फाउण्डेसनका कार्यक्रम निर्देशक सजना महर्जनले बताउनुभयो । उक्त प्रांगारिक मल उत्पादन गर्ने मेसिन ढुवानीसहित २६ लाखको लागतमा जडान गरिएको बताउनुभयो । तुलसीपुरबाट निस्कीएको गल्ने फोहोरलाई प्रसोधन गरेर प्रांगारिक मल उत्पादन गर्न थालिएको हो ।
सो मेसिनमा दैनिक दुई सय किलो फोहोर हाल्न मिल्ने छ भने १५ दिनसम्म फोहोर हालेपछि प्रत्येक दिन ४० टन प्रांगारिक मलको उत्पादन गर्न सकिने छ । यो मेसिन भारतको पुनेबाट विरगञ्जको नाका हुदै तुलसीपुरमा ल्याएर जडान गरिएको हो ।
त्यस्तै उपप्रमुख स्यानी चौधरीले प्रांगारिक मल उत्पादनका लागि जडान गरिएको मेसिन चल्नका लागि ‘थ्री फेज’ विद्युतको आवश्यकता भएकोले नेपाल विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रसंग सहकार्य गरेर छिट्टै संचालनमा ल्याउने बताउनुभयो । मल उत्पादनको काम एक हप्ताभित्रै सुरु गर्ने उहाको भनाई छ ।
त्यस्तै उहाले उत्पादन भएको मललाई कस-कसलाई, कहाँ कहाँ वितरण गर्ने भनेर कार्यविधि बनाएर विक्री वितरण गर्ने बताउनुभयो । मलको अभाव भएको समयमा यस प्रविधि मार्फत छिट्टै प्रांगारिक मल उत्पादन गर्न सकेमा नगरवासीले ठूलो राहत पाउने उहाको विश्वास छ ।