२०८१ माघ ४ गते शुक्रवार

स्वास्थ्य संस्था नपुग्दै बाटोमै बच्चाको जन्म



दाङ, ७ साउन ।
दाङको बिकट पहाडी क्षेत्रका नागरिकले नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार सेवा लिन सास्ती पाउने गरेका छन् ।

प्रसुतिका लागि नजिक स्वास्थ्य संस्था नहुँदा देउखुरीको पहाडी क्षेत्रका अधिकांश महिलाले घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् भने कतिपय महिला अस्पताल जाँदै गर्दा बाटोमै सुत्केरी हुने गरेका छन् । विकट पहाडी क्षेत्र राप्ती गाउँपालिका-९ चिसापानीकी १९ वर्षीया देवकला बुढाले हिजो बाटोमै बच्चालाई जन्म दिनुभएको छ ।

बुढालाई बिहान सुत्केरी बेथा लागेपछि परिवार र आफन्तले गाउँबाट करिव २० किलोमिटरको दुरीमा रहेको प्रस्तावित भालुवाङ अस्पताल लैजाने क्रममा पौने बजेतिर बन जंगलमै बच्चाको जन्म भएको हो ।

सिमसिम पानी पनि परिरहेको थियो । बाटो बिग्रिएर बडो मुस्किलले पैदल हिड्न सकिए पनि गाडी चल्न सक्ने अवस्था थिएन । गाउँ नजिक नवनिर्वाचित राप्ती गाउँपालिका वडा नम्बर २ की वडा सदस्य पिमा गाहा मगरको पहलमा बिच बाटोमै सुत्केरी भएकी बुढालाई भालुवाङ अस्पताल पुर्‍याइएको हो ।

आमा र बच्चाको अवस्थामा सामान्य रहेको छ । आमा सानै उमेरमा विवाह गरेका कारण र अस्पतालसम्म बेलामै पुर्‍याउन नसक्दा रगत अलि बढी बगेको अस्पतालका सिनियर अहेव भुवन भण्डारीले बताउनुभयो ।

देवकला जस्तै पहाडी गाउँका महिलाहरुले गाउँमा नै स्वास्थ्य संस्था नहुँदा घरमा वा बाटोमा बच्चा जन्माउनु परेको छ । कतिपयले प्रसुति सेवा समयमै नपाउँदा अकालमा मृत्युवरण समेत गर्नुपरेको स्थानीय नागरिकको दुखेसो छ । राप्ती गाउँपालिकाको देवीकोटमा स्वास्थ्य इकाई केन्द्रभए पनि सवैलाई पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा वर्षेनी पहाडी गाउँका स्थानीयहरुले दुख खेप्नु परेको छ ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार