एजेन्सी-
अफगानिस्तानमा आत्मघाती हमला हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । हिजो राजधानी काबुलस्थित विदेश मन्त्रालय नजिक आत्मघाती हमला भएको तालिवान प्रशासनले जनाएको हो ।
सूचनामन्त्री उस्ताद फरीदुनले बम आत्मघाती हमला मन्त्रालय भित्र नै गर्न खोजेको तर असफल भएको बताउनुभयो । उहाँले दुर्घटनामा परी कैयौ घाइते भएको जानकारी दिनुभयो । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । आत्मघाती हमला स्थानीय समयअनुसार अपरान्ह ४ बजे भएको हो ।
चीनको एक प्रतिनिधिमण्डलले तालिवानसँग बैठक बसिरहेको बेलामा हमला भएको बताइएको छ । इस्लामिक स्टेटले पछिल्लो एक वर्षमा अफगानिस्तानमा भएका विभिन्न हमलाको जिम्मेवारी लिँदै आएको छ । यद्यपि हिजो भएको हमलाको भने कुनै पनि संगठनले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ ।
प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार