दाङ, २५ माघ ।
तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा स्थित सगरमाथा बालबाटिका बोर्डिङ स्कुलमा खेलकुद सप्ताह शुरु भएको छ ।
विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समावेश गराई उनीहरूको मानसिक, शारीरिक, सामाजिक संवेगात्मक चौतर्फी विकास गरी अनुशासित एवं कुशल र सफल नागरिक बनाउने उद्देश्यका साथ खेल सप्ताह शुरु गरिएको विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभइ अतिरिक्त कुराहरू पनि सिकाउनुपर्ने भएकाले विद्यालयले विभिन्न खेलहरूको आयोजना गरेर खेल सप्ताह शुरु गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मंगलबारदेखि शुरु भएको खेल सप्ताह शुक्रबारसम्म हुने छ । खेल सप्ताहमा पहिलो दिनमा सिनियर विद्यार्थी तर्फ फुटबल, १००, २०० र ४०० मिटर छात्र तथा छात्रा दौड प्रतियोगिता हुनेछ । यस्तै जुनियरतर्फ तातो आलु, नृत्य, गायन, चम्चा दौड लगायतका प्रतियोगिता हुने छन् ।
यस्तै खेलको पहिलो दिन फुटबलमा एलो हाउसले जितेको छ । छात्र २०० मिटर दौडमा अर्जुन नेपाली प्रथम, करण चौधरी दोस्रो र किरण कठायत तेस्रो भएको विद्यालयले जनाएको छ । यस्तै १०० मिटर छात्रा तर्फ दौडमा मनिषा वली प्रथम, माया मगर दोस्रो र अनु रसाइली तेस्रो भएका छन् । साथै बुधबार बाँकी खेलहरू बिहान ११ बजेदेखि शुरु हुने र पुरस्कार वितरण शुक्रबार हुने र शनिबार २८ गते अभिभावक दिवस हुने पनि प्रअ वलीले जानकारी दिनुभयो ।
विद्यालयकी अतिरिक्त क्रियाकलाप खेल संयोजक पविता विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कल्पना केसीले गरेकी गर्नुभयो । प्रअ वलीले खेल शिक्षक ठाकुर डीसी र टिम क्याप्टेनहरूलाई बल हस्तान्तरण गरेर खेल शुभारम्भ गरिएको छ ।