काठमान्डौं, ११ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले श्रमप्रति सम्मान र कामप्रति गर्व महसुस हुने खालका सामग्री प्रसारण गर्नुपर्ने बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का कार्यसमितिसँग शनिवार शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगका समुदायसम्म पनि सहज रूपमा पुगेको र समुदायसँग घुलमिल भएकाले सामुदायिक रेडियोले ’श्रम संस्कृति’लाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण गर्नुपर्ने सुझाव दिनुभएको हो ।
श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भए पनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको भन्दै उहाँले यो धारणा बदल्न र काम प्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएकोमा जोड दिनुभयो ।
भेटघाट कार्यक्रममा संघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक रेडियोहरूको पनि अभिभावक बन्न आग्रह गर्नुभयो । उक्त अवसरमा अध्यक्ष गिरीले राष्ट्रपति पौडेललाई रेडियो सेट उपहार दिनुभएको हो ।।