२०८१ मङ्सिर २३ गते आइतवार

नारायणपुर कृषि, पर्यटन तथा व्यापार मेलाको उद्घाटन संचारमन्त्री रेखा शर्माले गर्ने



 

 

नारायणपुर, १३ बैशाख । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव -२०८०’ को तयारी पूरा भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा बैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको मूल आयोजक समिति तथा संघका अध्यक्ष अभियान बस्नेतले बताउनुभयो । ‘कृषि व्यवसाय एवम् पर्यटनमा प्रोत्साहन, दिगो अर्थतन्त्रका लागि योगदान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको छ । महोत्सवले जिल्लाको नारायणपुर बजारमा हाट बजार सञ्चालनको उद्देश्य राखेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

बिहीबार बिहान ११ बजे बाट प्रारम्भ हुने महोत्सवमा विभिन्न संस्कृति झल्काउने सांस्कृतिक झाँकी, टोल समिति, विद्यालय तथा विभिन्न संघ संस्थाका र्‍यालीसहित महोत्सवको उद्घाटन गरिने मूल आयोजक समितिले बताएको छ ।

महोत्सवमा केन्द्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिले बताएको छ । महोत्सव अवधिभरमा विद्यालय स्तरीय कविता प्रतियोगिता, एकल लोक नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

मेलाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने भएकी छिन् । महोत्सव उद्घाटन लगायत विविध कार्यक्रमका लागि मन्त्री शर्मा बुधबार नै दाङ आउनुभएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार