दाङ, २४ जेठ ।
दाङको दंगिशरण गाउँपालिकाले बुधबार सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले गरेको सेवाप्रवाहदेखि विकास निर्माणको विषयमा गरेको सार्वजनिक सुनुवाईमा सहभागी नागरिकले गाउँपालिकाले गर्ने विकास समान रुपमा हुनुपर्नेदेखि सेवाल प्रवाहलाई छिटो छरितो बनाउन आग्रह गरेका छन् ।
सहभागीले किसानलाई रासायनिक मल समयमै उपलब्ध गराउनुपर्नेदेखि योजना तर्जुमा गर्दा समान सहभागीता हुनुपर्ने सुझाव दिएका छन् । उनीहरुले गाउँपालिकाले दिने हरेक सिपमूलक तालिममा समान अवसर पाउनुपर्ने, योजना अनुगमन समयमै हुनुपर्ने, न्यायिक समितिको सेवा प्रवाह छिटो छरितो बनाउनुपर्ने सुझाव दिएका छन् ।
दंगिशरण–१ फुर्केसल्लीका पुनु भण्डारी, दंगिशरण –६ का कान्छुराम चौधरी, र हिरा चौधरी, स्वास्थ्यकर्मी दशरथ गिरीले गाउँपालिकाले नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउनका लागि हेल्प डेस्क स्थापना गर्नुपर्नेदेखि लागत इस्टीमेट नेपालीमा हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी स्थानीय मिडियालाई स्थानीय सरकारले प्राथमिकतामा पार्नुपर्ने बताउनुभयो । स्थानीय सिताराम चौधरी, रोशन गिरी, ओरेकका पुजा चौधरी, पत्रकार चेतन वलीले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासलाई प्राथमिकतामा राखेर समानरुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिकाका सात वटै वडामा गरिएको सार्वजनिक सुनुवाईमा योजना तर्जुमा गर्दा पारर्दशी नगरिएको, स्वास्थ संस्थामा डाक्टर नभएको, फोटोकपी सुविधा उपलब्ध नगराउदा सास्ती पाएको, कृषि अनुदान पर्याप्त नभएको, कृषिका ठुला औजारमात्रैमा अनुदान दिँदा साना औजार प्रयोग गर्ने किसानले लाभ लिन नसकेको, दलित बालबालिकालाई बजेट छात्रवृतिका लागि रकम बिनियोजन नगरेको, सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोरा आफैले पढाउने विद्यालयमा पढाउनुपर्ने सुझाव तथा गुणासा आएको सुचना अधिकारी टेकबहादुर खत्रीले बताउनुभयो ।
दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले निर्वाचित भएर आएपछि आफु साझा भएकाले राजनैतिक ढंगले नहेरी एक वर्षको अवधिमा सकेसम्म समानरुपमा विकास गरिरहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, संचार, विद्युत लगायतका काम तिब्ररुपमा भएको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वली खड्काले निर्वाचनका समयमा गरेका प्रतिवद्धता पुरा गर्न विभिन्न कारणले सोचेजस्तो छिटो नभएपनि अधिकतमरुपमा विकास गरिरहेको बताउनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारीले गाउँपालिकाको विकासमा जनप्रतिनिधि र कर्मचारीलाई नागरिकले पनि साथ दिनुपर्ने बताउनुभयो ।
महिला बालबालिका तथा सामाजिक शाखाका चन्द्रा वलीले अपांगता भएका व्यक्तिलाई परिचयपत्र दिँदा ऐन नियमभन्दा बाहिर नगएको बताउनुभयो । कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार प्रमोद आचार्यले गर्नुभएको हो ।।