२०८१ मङ्सिर २३ गते आइतवार

मनसुन औसत समयमै भित्रिने सम्भावना



काठमान्डौँ, २८ जेठ ।
देशका विभिन्न ठाउँमा पानी पर्दा बढ्दो गर्मीबाट केही राहत भएको छ । देशभर रहेका दुई सय ५८ वटा वर्षामापन केन्द्रमध्ये ५७ वटा केन्द्रमा वर्षा मापन भएको छ ।

२४ घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा १०५ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुली, लमजुङलगायतमा जिल्लामा रहेका मापन केन्द्रमा पनि २४ घण्टामा ३० मिलिमिटरभन्दा धेरै पानी परेको छ । पूर्व र मध्य क्षेत्रका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा हुँदा तराई,मधेस र पश्चिमी क्षेत्रमा एक,दुई ठाउँमा मात्रै वर्षा भएको छ ।

यसैबीच आज आइतवार गर्मी पनि केही घटेको छ । आज मध्य र पश्चिम तराई क्षेत्रमा बढी गर्मी रहँदा पूर्वका क्षेत्रमा हिजो शनिवारको तुलनामा गर्मी केही कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि हिजोको तुलनामा गर्मी केही घटेको छ । पछिल्लो डेढ हप्ता देशका धेरै ठाउँमा अधिकतम तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो ।

मौसमविद्हरूले औसत समयभन्दा झन्डै एक हप्तापछि मात्रै मनसुन भित्रिने अनुमान गर्दा गर्मी लम्बिने चिन्ता रहेकोमा अरब र बङ्गालको खाडीमा विकसित नयाँ प्रणालीका कारण मनसुन औसत समय आसपासमै आउने सम्भावनासमेत बढेको छ । पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले निर्धारित समयकै आसपास नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार