दाङ, २४ असार । दाङ-सल्यान सडकखण्ड केहिबेर अघिदेखि संचालनमा आएको छ । राप्ती राजमार्ग अन्तगर्त सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै सुख्खा पहिरो खसेका कारण अवरुद्ध भएको सडक आइतबार बिहान ८ बजेदेखि सुचारु भएको हो ।
शनिबार दिउँसो चारबजेदेखि बन्द सडक करिब १६ घण्टापछि संचालमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । दुई वटा जेसिवी लगाएर पहिरो पन्छाउने काम भएको हो ।
अवरुद्ध सडक संचालनमा आएपछि बिच बाटोमा रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् । वर्षातको समयमा पहिरो जाँदा राप्ती राजमार्ग विभिन्न समयमा अवरुद्ध हुने गरेको छ । केहि दिनअघिमात्रै सोहि सडकमै विद्युतको तारले बसलाई छुँदा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०८० असार २४ गते आइतवार