२०८१ मङ्सिर २३ गते आइतवार

मौसममा बदली,भोलिदेखि धेरै स्थानमा पानी पर्ने



दाङ, २४ असार ।
दाङसहित देशभरका अधिकांश स्थानमा आज मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलिदेखि भने धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनी रेखा भोलिदेखि सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकाले भोलिदेखि नेपालका धेरै स्थानमा पानी पर्नेछ ।

अहिले मनसुनी रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ र त्यो उत्तरतिर सर्ने क्रममा छ । मौसमविद महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ ।

अहिले भने सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो भने लुम्बिनी र सुदूरपश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
वर्षाको समयमा बाढी, पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार