२०८१ असोज २७ गते आइतवार

कोटेश्वरमा गाडी चेकजाँच गर्ने प्रहरीकी आमा जब मेयर बालेनको घर पुगिन्



काठमान्डौँ,१८ भदौ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले चढेको सरकारी गाडी नियमित चेकजाँच गर्दा एक जना ट्राफिक प्रहरीको परिवारले अनावश्यक तनाव व्यहोर्नु परेको छ।

शनिबार साँझ कोटेश्वरमा काठमाडौं महानगरपालिकाको गाडी नियमित चेकजाँचमा परेको थियो। उक्त गाडी सई सुशील न्यौपानेले चेकजाँच गरेका थिए।

बिदाको दिन सरकारी गाडी चलाउने अनुमति छ कि छैन भनेर ड्युटीमा खटिएका प्रहरीले सोधेका थिए।

यही विषयमा मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जाल फेसबुकमा अब काठमाडौं महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिने उत्तेजक स्टाटस लेखेका थिए।

शाहको उक्त स्टाटसमा तीव्र प्रतिक्रिया आएका थिए।

आइतबार दिउँसो शाहको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै ड्युटीमा खटिएका प्रहरीले मादक पदार्थ, गुट्खा आदि खाएर गाडी चेक गर्दै दुःख दिएको आरोप लगाएको थियो।

त्यसपछि सई सुशील न्यौपानेको परिवारमा झन् तनाव थपिएको थियो।

‘मेयर शाह पत्नी सविना चढेको गाडी चेक गरेको समाचार आएदेखि नै सईको परिवार तनावमा थियो। बुवा मुटुको रोगी भएकाले आमा थप चिन्तित हुनु स्वाभाविक भइहाल्यो,’ पारिवारिक स्रोतले सेतोपाटीसँग भन्यो।

आइतबार दिउँसो मेयरको सचिवालयले विज्ञप्ति निकालेपछि उनकी आमा झन् आत्तिएकी थिइन्।

उनी सोधखोज गर्दै सिनामंगलस्थित मेयर शाहको निवासमा पुगेकी थिइन्।

शाहको परिवारसँग उनले आफ्ना छोराले जाँडरक्सी केही पनि नखाने र मेयर शाहकी पत्नीलाई दुःख दिने नियतले त्यस्तो नगरेको बताएको परिवारका सदस्यले बताए।

‘आमा गएको थाहा पाएपछि छोरा (सई सुशील न्यौपाने)पनि सँगसँगै मेयर निवास पुगेका थिए,’ परिवारका ती सदस्यले भने, ‘छोरा पुग्दा आमा माथिल्लो तलामा कुरा गर्दै हुनुहुँदो रहेछ। उहाँले आफ्नो छोराले ड्युटी पालना गरेको र दुःख दिने नियत नभएको र रूखो व्यवहार पनि नगर्ने बताएर आउनुभयो।’

परिवारका सदस्यले बताएअनुसार आमा पुग्नेबित्तिकै मेयर शाहको परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी पनि पुगेपछि सौहार्द वातावरणमा कुराकानी गरेर फर्किएको परिवारका सदस्यले बताए।

‘बुवा एकदम आत्तिकएकाले आमा जानुभएको हो। आमा पनि दिनभर तनावमै हुनुहुन्थ्यो,’ परिवारका सदस्यले भने, ‘बालेनको घर पुगेपछि सौहार्द वातावरणमा कुरा भयो।’

शनिबार राति ९ बजे मेयर बालेन शाहकी श्रीमती सविना चढेको गाडी प्रहरी चेकिङमा परेको थियो। मेडिसिटी अस्पतालबाट छोरीको स्वास्थ्य बुझेर फर्किएकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी रोकेको भन्दै मेयर शाहले ‘सिंहदरबार जलाउने’ धम्की दिएका थिए।

यद्यपि मेयर शाहको फेसबुक पेजमा अहिले त्यो स्टाटस देखिँदैन। फेसबुकमा स्ट्याटस लुकाउन र हटाउन सकिने व्यवस्था छ।

पत्नी रोकिएको विषयमा मेयर शाहले उत्तेजक स्टाटस लेखेको भनेर टिप्पणी भएपछि आइतबार अपराह्न स्पष्टीकरण दिएका थिए।

मेयर शाहको सचिवालयले शिशुलाई स्तनपान गराइ फर्किएकी सविनालाई दुःख दिएको बताएको थियो।

सवारी चालकले आफ्नो परिचय पत्र र सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको बताउँदा पनि दुःख दिएको स्पष्टीकरणमा उल्लेख थियो।

‘नगर प्रमुख सहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे,’ मेयर शाहको सचिवालयले स्पष्टीकरण दिँदै भनेको थियो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले उक्त गाडी एक मिनेट पनि नरोकिएको भन्दै खण्डन गरेका छन्।

त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पनि मेयर शाहले बिदाको दिन गाडी चलाउने अनुमति नलिएको स्पष्ट पारेका छन्।सेतोपाटीबाट

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार