२०८१ माघ १० गते बिहिवार

नेपाली रक्तदाता संघ कतारको जीवनशैली र स्वस्थ आहार प्रशिक्षण कार्यक्रम सम्पन्न



कतार/
नेपाली रक्तदाता संघ कतारको आयोजनामा शनिवार “जीवन सुखःनिरोग सुखः जीवन तनाव व्यवस्थापन, जीवनशैली र स्वस्थ आहारः आनन्दमय जीवन पद्धतिका प्रमुख आधार” बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीको अध्यक्षता तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको प्रमुख आतिथ्यता एवं गैरआवासीय नेपाली संघका अध्यक्ष रविना थापा र अन्तर्राष्ट्रिय रक्तदाता संघका सचीव तेज कटुवालको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो।

संघले योग एवं आहार विशेषज्ञ तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा प्रशिक्षण कार्यक्रम गरेको हो।

मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ नज्मा स्थित सालिमार इस्तानबुल रेस्टुरेन्टमा भएको कार्यक्रममा डाक्टर अधिकारीले शारीरिक र मानसिक स्वास्थ्य साथै जीवनशैली र दैनिक जिबनमा ग्रहण गर्ने भोजन,जीवन उपयोगी ज्ञानका बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा कतारमा स्थापित संघ संस्था प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियान्ता,पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष खत्रीले कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै संघले मानवीय कार्यमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नेपाली रक्तदाता संघ कतारका सह-कोषाध्यक्ष सबित्रा शर्माको स्वागत मन्तव्य बाट शुरू भएको कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश ढकालले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सारदा भुजेलले गर्नुभएको हो।

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार