२०८० फाल्गुन १३ गते आइतवार

दाङका प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा



दाङ, २५ मंसिर ।
रुसी सेनामा गएका दाङ बिजौरीका प्रतीक पुन युक्रेनी सेनाको कब्जामा पर्नुभएको छ । युक्रेनी सेनाले सार्वजनिक गरेको भिडिओमा प्रतीक कब्जामा परेको जनाइएको छ ।

उहाँले आफू रुसमा पढ्न आएको र त्यसको केही समयपछि त्यहाँका एजेन्टहरुको सल्लाहमा रुसी सेनामा भर्ती भएको उल्लेख गर्नुभएको छ । पुनले केही महिनाको प्रशिक्षणपछि लडाईँमा पठाएको र अहिले आफू युक्रेनमा रहेको जानकारी दिँदै उहाँले कोही पनि नेपालीलाई रुसमा नआउन अनुरोध गर्नुभएको छ ।

आफुलाई एजेन्टले युद्ध केही समयमै रोकिने भन्दै पैसाको प्रलोभनमा पारेर भर्ति गराएको पनि बताउनुभएको छ । यसअघि मंसिर १७ गते युक्रेनी सेनाले काभ्रेको मन्डनदेउपुर-६, का २२ वर्षीय सिद्धार्थ ढकाल र असोज २७ गते बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गरेको थियो ।

परराष्ट्र मन्त्रालयले यसअघि नियन्त्रणमा लिएका २ जना नेपालीलाई रिहा गर्न पत्राचार गरेपनि अहिलेसम्म कुनै जवाफ आएको छैन ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार