२०८१ असोज २१ गते सोमवार

खरकट्टी डाँडा जोड्ने पुल बनेपछि स्थानीय खुशी



दाङ,२८ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरिगैँमा रहेको सिद्धार्थ टोलमा रामलाल पाखरेलको घर छ । उमेरले उहाँ ७२ वर्ष पुग्नुभयो । हिँउदको पारीलो घाम ताप्दै बाँसको सामाग्री निर्माण गर्न चोयाँ तयार गर्दैहुन्छ ।

पोखरेलको घर रहेको सिद्धार्थ टोलदेखि शिबमन्दिर टोलको दुरी करिब एक सय मिटरमा छ । डाँडाको गाँउलाई खरकट्टि डाँडा भनिन्छ ।

दुई टोलको सिमा नजिकै रहेको सानो सिम खोल्सोले छुट्याएको छ । देख्दा सामान्य लाग्ने तर सिद्धार्थ टोलमा अवस्थीत जनमुखी प्राथमिक विद्यालयमा विद्यार्थी विद्यालय पुग्नै गाह्रो हुन्थ्यो । 

अहिले सोहि ठाँउमा लुम्बिनी प्रदेश अर्थ मन्त्रालयको ८ लाख र तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ को ३ लाख गरी कुल १२ लाखको लागतमा पुल निर्माण भएपछि स्थानिय खुशी भएका छन् ।

पहिले विद्यालयमा छोराछोरी पठाउन अप्ठेरो भएपनि पुल निर्माण भएपछि सहज भएको स्थानी नन्दकली कवँरले बताउनुभयो ।

बिगतलाई सम्झदा भविष्यमा यो बाटो यस्तो सहज होला भन्ने कल्पना समेत नगरेको शिक्षक बिनु खड्काले बताउनुभयो । उहाँका अनुसार पुल बनेसंगै जनमुखी प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएको छ ।

बुधवार स्थानीयका समस्या बुझ्न पुगेका तुलसिपुर १२ का वडा अध्यक्ष खुशिराम चौधरीसंग स्थानीयले पुल निर्माण भएपनि त्यसको दुवैतर्फको भागलाई तारवार गरेर सुरक्षित बनाईदिन आग्रह गरेका छन् ।

वडा अध्यक्ष चौधरीले बाँकी रहेको पुलको दायाँ र बायाँ दुबै तर्फको भागमा तारजालीको ब्यवस्थापन गरि संरक्षण गरीने बताउनुभयो ।

साथै नजिकैको गुहारखोला वारपारका लागि वर्षातको समयमा समस्या रहेको भन्दै झोलुङ्गे पुलको आवश्यक्ता रहेको स्थानीयले बताए ।

पहिले जेठमासमा पानीको हाहाकार हुन्थ्यो । करिब आधा घण्टाको बाटोमा पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता थियो । अहिले पर्याप्त पानीको सुविधा रहेको स्थानिय ईन्द्रा कुवँरले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको आठ लाखको लागतमा खर्कट्टि डाँडामा खानेपानी पाईपलाईन विस्तार गरिएको वडा अध्यष चौधरीले बताउनुभयो । डिपबोरिङबाट पिउने पानीको व्यवस्था गरीएको छ ।

कुखुरापालन, कृषि ब्यवसाय, पशुपालन लगाएतको राम्रो संम्भावना भएको क्षेत्र रहेकाले यो ठाँउलाई विशेष प्राथमिकतामा राखेर वडाले काम गरीरहेको अध्यक्ष चौधरीको भनाई छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार