दाङ,१९ माघ।
दाङकाे तुलसीपुरमा रहेकाे टरिगाँऊ एयरपोर्टमा वि.सं २०११ सालमा पहिलो पटक प्लेन बसेको हो ।
तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट सम्भव त नेपालके पुरानो एयरपोर्ट मध्यको एक हो । तर दुःखका साथ भन्नुपर्छ यो एयरपोर्ट चुनाब जित्ने भर्याङ त बन्यो, जितिसकेपछि नेताहरुको प्राथमिकताको विषयमा परेन ।
अहिले पनि यस्तै देखिएको छ । तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलको स्तरोन्नती गर्ने बलियो तर्क राख्दै संघीय सांसद दिपक गिरी हुनुभयो, यसैगरी प्रदेश सांसद डिल्ली चौधरीको पनि यो नारा प्राथमिकतामा परेको थियो ।
पालिकाको सवालमा पनि मेयर टिकाराम खड्का, उपमेयर स्यानी चौधरीले टरिगाउँ एयरपोर्टलाई निर्वाचनमा मत बटुल्ने नारा बनाउनुभयो । सबैले निर्वाचन जित्नुभयो । यतिबेला तुलसीपुरका मेयर-उपमेयर यस विषयमा अलि बढि चिन्तित भएर काठमाडौमा मन्त्रालय धाई रहेको जस्तो देखिएको छ । तर उहाँहरुको मन्त्रालय धाउने कार्य पनि हल्कापाराको छ ।
जेहोस्, उहाँहरुको प्रयास जारी छ । तर केन्द्रमा नै हस्तक्षप गर्न सक्ने हैसियत राखेर निर्वाचित हुनुभएका संघीय सांसद दिपक गिरी यो विषयमा धेरै नै कम्जोर देखिनुभएको छ । उहाँले कुनै पनि ठाउँमा एयरपोर्टको स्तरीकरणमा दबाब दिएको महसुस भएको छैन ।
यसैगरी यतिबेला डल्लो बजेटका नाममा अरबौ रुपैयाँ हातमा राखेर बस्नु भएका मुख्यमन्त्री डिल्ली चौधरी पनि यो विषयमा चुइक्क बोल्नु हुन्न । यसले के देखाउँछ भने पदमा पुग्नका लागि सिढी बनेको टरिगाउँ एयरर्पोट सञ्चालन गर्ने सवालमा जितेर जानेहरु यतिसम्म गैरजिम्मेवार देखिनु भएको छ कि यसको लेखाजोखा सायद आउँदा दिनमा नागरिकले गर्ने नै छन् । इच्छा शक्ति हुने हो भने अहिले पनि उक्त विमानस्थलको स्तरबृद्धि हुन सक्छ ।
भैरहवा र नेपालगञ्जमा बर्षमा ६० दिन उडान हुँदैन, तर दाङमा एयरपोर्ट बन्यो भने दिनदिनै उडान हुन्छ । यी कुराहरु नेताहरुको प्राथमिकतामा पर्दैनन्, जनता झुक्याउने खेलमा खप्पिस सबैलाई अब नागरिकले खबरदारी मात्र होइन, अब कडा कदम चाल्नुपर्छ ।
जनताको आवश्यकताको विषयमा जहिलेसम्म जिम्मेवारी वहन गर्ने सवालमा जनप्रतिनिधिले तदारुकता देखाउँदैनन्, तबसम्म अब आफ्नै जनप्रतिनिधिहरुलाई बहिस्कारसम्म गर्ने आटँ नागरिक समुदायले गर्नुपर्छ ।
जिल्लाको आवश्यकताको विषयमा रत्तिभर काम नगर्नेलाई अब नागरिक समाजका अंगहरुले आफ्नो कार्यक्रममा बोलाउने, सम्मान दिने, प्रमुख अतिथि बनाउने काम बन्द गर्नुपर्छ । जि हजुरीको संस्कृतिले पनि नेताहरुलाई बिगारेको हो । अन्यथा ठूलाठूला एयरपोर्टहरु अहिले पनि बनि रहेका छन्, के कारणले टरिगाउँ विमानस्थल बन्दैन ?
यदि साँचै नै टरिगाउँ विमानस्थल बनाउने हो भने अब तुलसीपुरबासीहरुले पहिलो चरणमा त्यहाँका जनप्रतिनिधिहरुलाई विमानस्थल बनाउने कामको अगुवाई नगर्दासम्म बहिस्कार गर्नुको विकल्प छैन । अब आफ्नै अगुवाहरुसँग नागरिक समाज कडक बन्नुपर्छ ।
केही पाइन्छकि भन्दै मस्का मार्ने, चाप्लुसी घस्ने, प्रमुख अतिथि बनाएर जि हजुरी गरिरहने हो भने हाम्रा जनप्रतिनिधिहरुले आवश्यकताको विषयमा समेत मन लगाएर काम गर्ने वाला छैनन् । उनीहरुसँगको अबको दुरी नागरिक समुदायले पेचिलो बनाउने हो भने मात्र नेताको घैटोमा घाम लाग्नेछ, अनि बल्ल तुलसीपुरमा टरिगाउँ एयरपोर्ट निर्माणका लागि उनीहरुले कम्मर कस्नेछन् । अन्यथा यही पाराले त्यहाँ एयरर्पोट कहिल्यै बन्न सक्दैन ।
लेखक: नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष हुनुहुन्छ।